६ माघ, काठमाडौं। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
देउवाको स्वकीय सचिवालयले उनी यसपटक निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो। स्वकीय सचिव भानु देउवाले भने, “पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।”
प्रतिनिधिसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। यसअघि देउवा डडेलधुराबाट निरन्तर निर्वाचन लड्दै आएका थिए।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि उम्मेदवारका टिकटमा उनकै हस्ताक्षर भएको छ। तर नयाँ कार्यसमिति अमान्य रहेको दाबी गर्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ।
उम्मेदवारी दर्ता सुरु हुनुअघि नै देउवाले निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिमा थप चर्चा सुरु भएको छ।














