६ माघ, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनका नाममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त सरकारी तथा व्यक्तिगत संरचनाहरूको निरीक्षण गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न गृहजिल्ला झापा पुगेका ओलीले मंगलबार बिहानैदेखि विद्रोही समूहबाट भएका विनाशको स्थलगत अवलोकन गरेका हुन् ।
पार्टी क्षेत्रीय समन्वय कमिटी झापा-५ का संयोजक नारायणप्रसाद गौतमका अनुसार अध्यक्ष ओलीले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा ध्वस्त पारिएका संरचनाहरूको निरीक्षण गरी पीडित परिवारलाई भेट्ने कार्यक्रम छ । अभियानको सुरुवात दमकस्थित इलाका प्रहरी कार्यालयको भवन निरीक्षणबाट गरिएको छ ।
एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलका अनुसार अध्यक्ष ओलीले दमक नगरपालिकाको कार्यालय, मेयर राम थापाको निवास, पूर्वमेयर रोमनाथ ओलीको निवास र स्वयं आफ्नो निवासमा भएको क्षतिको अवलोकन गर्ने कार्यक्रम छ । यस्तै, नेपाली कांग्रेसको पार्टी कार्यालय, एमाले कार्यालय र युवा नेता बुद्धि थापाको निवास लगायतका करिब २५ वटा क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गर्ने सूची तयार पारिएको छ ।
“अध्यक्षज्यूले बिहान १० देखि १२ बजेसम्म क्षतिग्रस्त संरचनाको निरीक्षण र पीडितसँग संवाद गर्नुहुनेछ,” पौडेलले भने, “आजै दिउँसो १ बजे फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले बाँकी संरचनाहरूको निरीक्षण अर्को दिन गरिनेछ ।”
जेनजी आन्दोलनका क्रममा झापा क्षेत्र नम्बर ५ अन्तर्गत दमक, कमल, गौरादह र गौरीगञ्जमा ठूलो धनजनको क्षति भएको थियो। उम्मेदवारी दर्ताको दिन नै ओलीले क्षतिग्रस्त क्षेत्रको भ्रमण गर्नुलाई स्थानीय राजनीतिमा सहानुभूति बटुल्ने र विधिको शासनको पक्षमा उभिने रणनीतिक कदमका रूपमा हेरिएको छ।














