६ मांघ,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सुरु गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारको मनोनयन दर्ता गरिनेछ।
कार्यालयका अनुसार काठमाडौं क्षेत्र नं १ का लागि सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वरमा निर्वाचन कार्यालय तोकिएको छ। क्षेत्र नं २ को कार्यालय कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा स्थापना गरिएको छ।
काठमाडौं क्षेत्र नं ३ को निर्वाचन कार्यालय गोकर्णेश्वर नगरपालिका–४ को कार्यालयमा रहेको छ भने क्षेत्र नं ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन, चपलीमा सञ्चालनमा छ।
यस्तै, काठमाडौं क्षेत्र नं ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नं ६ का लागि तारकेश्वर नगरपालिकाको भवन, धर्मस्थलीमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
काठमाडौं क्षेत्र नं ७ का लागि बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (जुडो हल), खुसिबु–बालाजुमा कार्यालय रहेको छ भने क्षेत्र नं ८ को कार्यालय नागार्जुन नगरपालिकाको नगरपालिका भवनमा छ। क्षेत्र नं ९ का लागि चन्द्रागिरि नगरपालिकाको भवनमा निर्वाचन कार्यालय सञ्चालनमा आएको छ।
त्यसैगरी, काठमाडौं क्षेत्र नं १० को निर्वाचन कार्यालय कीर्तिपुर नगरपालिका–२ स्थित बाघभैरवमा स्थापना गरिएको छ। ललितपुर र भक्तपुर जिल्लामा पनि पायक पर्ने स्थानमा निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।














