६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर २ मा देखिएको अन्योल चिर्दै उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।
लामो समयको आन्तरिक रस्साकस्सी र छलफलपछि रास्वपाले कानुलाई टिकट दिने अन्तिम निर्णय लिएको केन्द्रीय सदस्य नन्दन यादवले जानकारी दिए । यस क्षेत्रमा कानुका साथै प्रमेश्वर कलवार र परबेज अख्तरले पनि बलियो दाबी प्रस्तुत गरेपछि निर्णय प्रक्रिया केही समय लम्बिएको थियो । अन्ततः स्थानीयस्तरमा लोकप्रिय छवि बनाएका वडाध्यक्ष कानुले नै बाजी मारेका हुन् ।
यससँगै रास्वपाले पर्साका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार सुनिश्चित गरेको छ । क्षेत्र नम्बर १ मा हरि पन्त, क्षेत्र नम्बर ३ मा रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ मा टेकबहादुर शाक्यलाई पार्टीले यसअघि नै मैदानमा उतारिसकेको छ ।
वैकल्पिक राजनीतिको नारासहित चुनावी दौडमा रहेको रास्वपाले पर्सा-२ मा वडाध्यक्ष कानुलाई अघि सारेपछि यहाँको चुनावी समीकरण थप रोचक हुने देखिएको छ। उम्मेदवारीको टुङ्गो लागेसँगै कानु सहित जनाले आजै आफ्नो मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।
यो पनि :
रास्वपाबाट पर्साका तीन क्षेत्रमा उम्मेदवार तय, २ मा रस्साकसी कायमै














