Logo

६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष राम किशोर सिंह (पराग) प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन् । पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ बाट उनले उम्मेदवारी दिन लागेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका सिंहले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आजै मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । मनोनयन दर्ता गरेसँगै बहालवाला वडाध्यक्षको पद स्वतः खारेज हुने कानुनी प्रावधान रहेकाले हालसम्म राजीनामा नदिएको उनले स्पष्ट पारेका छन् ।

लामो समय नेकपा (एमाले) को राजनीतिमा सक्रिय रहेका सिंहले ‘जेन-जी’ आन्दोलनपछि एमालेभित्र ‘दास प्रथा’ मौलाएको र कम्युनिस्ट विचार विपरीतका गतिविधि भएको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए । एमालेको महानगर उपाध्यक्ष पद समेत त्यागेर स्वतन्त्र यात्रामा निस्किएका उनी अन्ततः घिसिङको नेतृत्वमा सक्रिय भएका हुन् ।

राजनीतिमा पढेलेखेका र इमानदार युवाहरूको आवश्यकता रहेको बताउँदै आएका सिंहको उम्मेदवारीले पर्सा क्षेत्र नम्बर १ को चुनावी समीकरणलाई थप रोचक बनाइदिएको छ । एमालेको बलियो संगठन छाडेर नयाँ दलमार्फत चुनावी मैदानमा आएका परागको यो कदमलाई स्थानीय राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार