६ माघ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन् । सरकारमा सहभागी भएको छोटो समयमै पुनले मन्त्री पद त्यागेर आफ्नो साविककै सामाजिक तथा वैज्ञानिक अनुसन्धानको अभियानमा सक्रिय हुने निर्णय लिएका हुन् ।
पुनको राजीनामाको विषयलाई अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत आधिकारिक पुष्टि गरेका छन् । मन्त्री पुनले सरकारको प्रशासनिक कार्यभन्दा आफ्नो मौलिक अभियान र अनुसन्धानका कार्यहरूलाई समय दिनु आवश्यक रहेको महसुस गर्दै राजीनामा बुझाएको बुझिएको छ ।
अर्थमन्त्री खनालले फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभएको छ । उहाँको यो निर्णयले उहाँको लक्ष्यप्रतिको निष्ठालाई पुन: पुष्टि गरेको छ।” मन्त्रीका रूपमा पुनले विज्ञान र प्रविधिको क्षेत्रमा केही नवीन योजनाहरू अघि सार्ने प्रयास गरे पनि सरकारी प्रक्रियाको जटिलताका कारण उनले स्वतन्त्र रूपमै काम गर्न रुचाएको विश्लेषण गरिएको छ।
आविष्कार केन्द्रको माध्यमबाट नेपालमा प्रविधि विकासको नेतृत्व गरिरहेका पुनको राजीनामासँगै शिक्षा मन्त्रालयको जिम्मेवारी अब कसले सम्हाल्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयले कुनै आधिकारिक जानकारी दिएको छैन । पुनले मन्त्री पद छाडेर फेरि मैदानमै फर्कने निर्णय गरेपछि सामाजिक सञ्जालमा उनको प्रशंसा र राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन् ।















