Logo

६ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको नेतृत्व र आधिकारिकताको विवादमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।

विशेष महाधिवेशनमार्फत चयन भएको गगन थापा र विश्वप्रकाश शर्मा पक्षको नेतृत्वलाई निर्वाचन आयोगले दिएको आधिकारिकता विरुद्ध पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा अहिले बहस जारी छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भइरहेको यस सुनुवाइमा देउवा पक्षका कानुन व्यवसायीहरूले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफ्ना तर्कहरू राखिरहेका छन् ।

बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरूले पार्टीको मौजुदा विधान र स्थापित प्रक्रियालाई मिचेर गरिएको विशेष महाधिवेशनले आधिकारिकता पाउन नसक्ने जिकिर गरेका छन् । अहिले रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले इजलाससमक्ष बहस गरिरहनुभएको छ। यसअघि खम्मबहादुर खाती र रमेश बडालले पनि देउवा पक्षको तर्फबाट बहस गर्दै निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको र त्यसलाई बदर गर्नुपर्ने माग राख्नुभएको थियो ।

राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको यो मुद्दामा आजै सर्वोच्चले कुनै आदेश जारी गर्ने सम्भावना रहेको छ । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि संकटमा परेको देउवा पक्षका लागि यो कानुनी लडाइँ अस्तित्व रक्षाको विषय बनेको छ । बहस अझै जारी रहेकाले इजलासले अन्तरिम आदेश जारी गर्छ वा विपक्षीका नाममा कारण देखाऊ आदेश मात्र जारी गर्छ भन्ने विषयले कांग्रेसको आगामी राजनीतिमा ठूलो अर्थ राख्ने देखिएको छ ।


सम्बन्धित समाचार