Logo

६ माघ, काठमाडौं । आफ्नै मौलिक श्रम संस्कृति र लौरो अभियानमार्फत चर्चामा रहनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आसन्न निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहनुभएका साम्पाङ ठूलो संख्यामा आफ्ना समर्थक र शुभचिन्तकहरूको र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउनुभएको हो । स्थानीय तहमा स्वतन्त्र रूपमा मेयर जितेर सनसनी मच्चाउनुभएका साम्पाङको यो उम्मेदवारीले सुनसरीको चुनावी प्रतिस्पर्धालाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा पुर्‍याइदिएको छ ।

मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै साम्पाङले अब आफू संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको घोषणा गर्नुभयो। धरानको विकास र खानेपानी समस्या समाधानका लागि ढुङ्गा बोकेर चर्चा कमाउनुभएका उहाँले स्थानीय तहमा गरेको कामकै जगमा अब राष्ट्रिय राजनीतिमा पनि परिवर्तन ल्याउने दाबी गर्नुभएको छ । धरानका मेयरको यो कदमले अन्य स्थापित दलका हेभिवेट उम्मेदवारहरूका लागि ठूलो चुनौती खडा गर्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।

वि।सं। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका साम्पाङले यस पटक भने आफ्नै पार्टीमार्फत चुनावी प्रतिस्पर्धा रोज्नुभएको हो। उहाँको उम्मेदवारीले विशेषगरी युवा वर्ग र परम्परागत राजनीतिक दलप्रति असन्तुष्ट मतदाताहरूमा नयाँ उत्साह थपेको देखिएको छ। सुनसरी १ मा साम्पाङको इन्ट्रीसँगै अबको चुनावी परिणाम कस्तो होला भन्ने चासो देशभर बढेको छ ।


सम्बन्धित समाचार