सप्तरी, ६ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव आगामी निर्वाचनमा सप्तरी–३ बाट उम्मेदवार बन्ने भएका छन्।
जसपा नेपालको सोमबार राजविराज मा सम्पन्न बैठकले अध्यक्ष यादवलाई क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख तथा पूर्व मधेश प्रदेश सभा सदस्य विदेश्वर यादव (विक्की) ले जानकारी दिएका छन्।
अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी–२ बाट चुनाव लडेका थिए, तर जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए।
त्यस्तै, जसपा नेपालले अन्य उम्मेदवारहरू पनि सार्वजनिक गरेको छ। सप्तरी–१ बाट श्याम सरदार, सप्तरी–२ बाट पूर्व मन्त्री उमेश यादव, र सप्तरी–४ बाट डा. बबी सिंह यादव उम्मेदवार हुने जानकारी नेता यादवले दिएका छन्।
जसपा नेपालको यस निर्णयले आगामी निर्वाचनमा पार्टीको रणनीति र प्रतिस्पर्धी क्षेत्रहरूमा उम्मेदवारहरूको प्रभावलाई दर्शाउने अपेक्षा गरिएको छ।















