६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो गृहजिल्ला रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।
मंगलबार अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । जेनजी आन्दोलनपछिको बदलिएको राजनीतिक परिदृश्यमा हुन लागेको यो निर्वाचनमा नेपालको उम्मेदवारीलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
उम्मेदवारी दर्ताका क्रममा नेता नेपालका साथमा ठूलो संख्यामा पार्टी कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो । लामो राजनीतिक अनुभव भएका नेपालले रौतहट–१ लाई नै आफ्नो चुनावी आधार क्षेत्र बनाउँदै आउनुभएको छ। मनोनयन दर्ता गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले मुलुकको राजनीतिक स्थिरता र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । निर्वाचन आयोगले तोकेको मनोनयनको अन्तिम दिन मंगलबार रौतहटमा अन्य दलका उम्मेदवारहरूले पनि उत्साहजनक रूपमा दर्ता प्रक्रिया पूरा गरेका छन् ।
राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आउनुभएका नेता नेपालका लागि यो निर्वाचन प्रतिष्ठाको लडाइँ समेत बनेको छ । नेकपाको सहसंयोजकको जिम्मेवारीमा रहेका उहाँले यस पटक नयाँ जोस र एजेन्डाका साथ मतदातामाझ जाने तयारी गर्नुभएको छ। २७५ सदस्यीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ हुन लागेको यस प्रतिस्पर्धामा रौतहट–१ मा नेपालको मुख्य भिडन्त कोसँग हुनेछ भन्ने विषयले अहिले जिल्लाभर चर्चा पाएको छ ।















