६ माघ,वीरगञ्ज । वीरगञ्जस्थित कावेरी एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कक्षा ९ र १० का ८० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा दैनिक जीवनमा ट्राफिक प्रणालीको महत्व, सडक सुरक्षाका आधारभूत नियम, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका उपायबारे व्यवहारिक जानकारी दिइएको थियो।
कार्यक्रममा प्रहरी निरीक्षक कटवालले ट्राफिक नियम केवल जरिवानाबाट बच्नका लागि मात्र नभई आफ्नै तथा अरूको ज्यान सुरक्षाका लागि अनिवार्य भएको उल्लेख गर्दै सानै उमेरदेखि नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रममा एलाइड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झाको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता अभिमन्यु झाले गर्नुभएको थियो। कार्यक्रम सफल बनाउन संस्थाका अन्य सदस्यहरूको पनि महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको अन्त्यमा आयोजक पक्षले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साप्रति आभार व्यक्त गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारी र सुरक्षित ट्राफिक संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। विद्यालय प्रशासनले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।















