७ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू विरुद्ध आज (बुधबार) उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले तय गरेको निर्वाचन तालिका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ दर्ता भएका मनोनयन पत्रमाथि दाबी विरोधका लागि आजको समय तोकिएको हो ।
दर्ता भएका उजुरीहरू उपर जाँचबुझ गरी माघ ८ गते बेलुका ५ बजेसम्म अन्तिम निर्णय लिइने र उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ भने सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा भएको मनोनयन दर्तामा कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । यसमा ३ हजार ८८ पुरुष, ३८५ महिला र १ जना अन्य लिङ्गी उम्मेदवार रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसपटकको निर्वाचनमा नयाँ पुस्ताको आकर्षण निकै उत्साहजनक देखिएको छ ।
उमेर समूहका आधारमा हेर्दा २५ देखि ३५ वर्षका ५८३ जना युवाहरूले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा बढी ३६ देखि ५० वर्ष उमेर समूहका १ हजार ६१० जना चुनावी मैदानमा छन्। त्यस्तै, ५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० जना र ६५ वर्षभन्दा माथिका २०१ जना पाको उमेरका उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दैछन् ।
शान्तिपूर्ण र उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब निर्वाचन आयोग र राजनीतिक दलहरूको ध्यान चुनावी प्रचार र उजुरी उपरको निर्णयतर्फ केन्द्रित भएको छ ।
















