७ माघ, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै नेपाली कांग्रेस पूर्ण रूपमा चुनावी अभियान र घोषणापत्रको तयारीमा जुटेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार देशव्यापी चुनावी प्रचारलाई व्यवस्थित बनाउन र घोषणापत्रलाई अन्तिम रूप दिन आज काठमाडौँमा रहेका नेताहरूबीच महत्त्वपूर्ण छलफल हुँदैछ ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको समूह घोषणापत्रको विशेष तयारीमा लागेको प्रवक्ता चालिसेले जानकारी दिएका छन् । “मनोनयन दर्तासँगै हामी अब निर्वाचनको अर्को महत्त्वपूर्ण चरणमा प्रवेश गरेका छौँ,” चालिसेले भने, “आजको बैठकमा घोषणापत्रका मुख्य एजेन्डाहरू र चुनावी रणनीतिका विषयमा थप विमर्श हुनेछ।”
पार्टीले निर्वाचनलाई प्रभावकारी रूपमा अघि बढाउन उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘निर्वाचन परिचालन समिति’ गठन गरेको छ। यस समितिले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रचारप्रसारको रणनीति बनाउने, कांग्रेसका नीति, योजना र कार्यक्रमहरू जनतासम्म पुर्याउने र समग्र निर्वाचन अभियानको नेतृत्व गर्ने जिम्मेवारी पाएको छ ।
पार्टीको आधिकारिकता विवादमा तत्कालीन संस्थापन पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै थापा नेतृत्वको नयाँ कार्यसमितिलाई राजनीतिक र कानुनी रूपमा थप सहज भएको छ । अदालतको यो निर्णयपछि कांग्रेसको आधिकारिक टोली उच्च मनोबलका साथ निर्वाचनकेन्द्रित अभियानमा होमिएको हो ।
कांग्रेसले यसपटकको घोषणापत्रमा युवाका मुद्दा, आर्थिक सुधार र सुशासनलाई प्राथमिकतामा राख्ने बुझिएको छ। आजको छलफलपछि निर्वाचन प्रचार-प्रसारका लागि टोल-टोलसम्म पुग्ने गरी ठोस कार्ययोजना सार्वजनिक गर्ने पार्टीको तयारी छ ।
















