Logo

७ माघ, कलैया । कलैया उपमहानगरपालिका-१० मटीअर्वास्थित नेपाल माध्यमिक विद्यालयको स्वामित्वमा रहेका सार्वजनिक माछा पोखरीको आम्दानी विगत डेढ दशकदेखि ठेकेदारहरूले कब्जा गर्दै आएका छन् ।

विद्यालयले बाल विकास र उच्च मावि सञ्चालनका लागि ठेक्का लगाउँदै आएका तीनवटा ठूला पोखरीको ५० लाख रुपैयाँभन्दा बढी बक्यौता रकम ठेकेदारहरूले भुक्तानी नगर्दा विद्यालयको आर्थिक अवस्था जर्जर बनेको छ ।

२०६२ सालदेखि नै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र तत्कालीन विद्यालय व्यवस्थापन समितिको संरक्षणमा ठेकेदारहरूले विद्यालयलाई बुझाउनुपर्ने रकम नबुझाई मनोमानी ढङ्गले पोखरी भोगचलन गरिरहेका हुन् ।

विद्यालयका अनुसार विभिन्न ठेकेदारहरूले लाखौँ रकम बुझाउन बाँकी छ, जसमा सन्तोष कुमार तुरहाले २४ लाख ५८ हजार, दरोगा अन्सारीले १५ लाख ३३ हजार र दशै ठाकुर लोहारले ५ लाख १० हजार रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । अन्य आधा दर्जन ठेकेदारहरूले समेत वर्षौँदेखि रकम बुझाएका छैनन् ।

हालका प्रधानाध्यापक रामबाबु प्रसाद कुशवाहाले बक्यौता नतिर्ने ठेकेदारलाई माछा मार्न रोक लगाउन खोज्दा राजनीतिक दबाब आउने गरेको गुनासो गरे । उनले भने, “तत्कालीन व्यवस्थापन समिति र प्रधानाध्यापकको कमजोरीका कारण आज हामीले दुःख पाइरहेका छौँ, शिक्षकहरूलाई तलब खुवाउन समेत मुस्किल भइरहेको छ।”

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुगमन गरे पनि र जिल्ला प्रशासन कार्यालयमा पटक-पटक उजुरी तथा छलफल भए पनि रकम असुली हुन सकेको छैन । स्थानीय शिक्षक सुनीलकुमार पण्डितका अनुसार सीडीओ र एसपीकहाँ पटक-पटक ताकेता गर्दा पनि सुनुवाइ भएको छैन ।

२०१६ सालमा स्थापना भएको र १ हजार ४०६ विद्यार्थी अध्ययनरत यस विद्यालयको आम्दानीमा सशस्त्र प्रहरीले समेत ‘कर्के नजर’ लगाएको छ। विद्यालयको निर्णय विनै सशस्त्रले पोखरीको डिल कब्जा गरेको र ३० प्रतिशत आम्दानी बुझ्दै आएको पाइएको छ । वडाध्यक्ष महमद साविरले ठेकेदारहरूले प्रशासनमा सहमति गरेर पनि रकम नबुझाउँदा शैक्षिक संस्था चलाउनै कठिनाइ भएको बताए ।


सम्बन्धित समाचार