७ माघ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै राजीनामा दिएका महावीर पुनले आफ्नो बहिर्गमनको मुख्य रहस्य खोलेका छन् । मन्त्री पद त्यागेर सिधै गृहजिल्ला म्याग्दी पुगेर क्षेत्र नम्बर १बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पुनले प्रणाली सुधारमा राज्य संयन्त्र बाधक बनेपछि आफूले ‘विद्रोह’ गरेको खुलासा गरेका हुन् ।
बुधबार पत्रकार र सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि आफूले अघि सारेका तीनवटा अध्यादेश र चारवटा नियमावली ल्याउन सहयोग नपाएपछि पद त्यागेको बताएका छन् । “शिक्षा क्षेत्रमा संरचनागत सुधार नगरी देश समृद्ध हुन सक्दैन । तर, मेरा प्रस्तावहरूलाई संसद्को विधान समिति र उच्च तहबाटै रोकियो,” उनले भने, “यदि ती कानुनहरू स्वीकृत भएको भए मलाई यो निर्वाचनमा लड्ने कुनै मनसाय नै थिएन ।”
पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै र शक्तिशाली मन्त्रालय गठन गर्ने आफ्नो महत्त्वाकांक्षी योजना मुख्य सचिव तहबाटै अल्झाइएको गम्भीर आरोप लगाएका छन् । “छुट्टै मन्त्रालय बनाउने कुरामा अवरोध गरेर मलाई असफल बनाउन खोजियो,” उनले थपे, “त्यसपछि मलाई रिस उठ्यो र मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीतिर दगुरेँ ।”
स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि पुनले आफू कुनै पनि राजनीतिक दलको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनलाई विभिन्न दलहरूले सम्पर्क गरिरहेको भए पनि उनले कसैको कुरा नसुन्ने र स्वतन्त्र नै रहने अडान लिए । “३५ वर्षसम्म पुराना पार्टीहरूले देश चलाउने ढंग ल्याएनन् । अब नयाँले ल्याउँछ कि भनेर म मैदानमा आएको हुँ,” पुनले कडा शब्दमा भने, “म कुनै पनि पार्टीको पुच्छर बन्न चाहन्न।”
मंगलबार बिहानै निर्वाचन अधिकृतको कार्यालय म्याग्दी क्षेत्र नम्बर १ मा पुगेर मनोनयन दर्ता गराएका पुनले अबको आफ्नो सम्पूर्ण चुनावी एजेन्डा शिक्षा, विज्ञान र प्रविधिमा आधारित हुने बताएका छन् । राष्ट्रिय आविष्कार केन्द्रमार्फत प्रविधिमा क्रान्ति ल्याउन खोजेका पुनको यो कदमले म्याग्दीको चुनावी समीकरण मात्र नभई राष्ट्रिय राजनीतिमा पनि ठूलो तरंग पैदा गरिदिएको छ । एउटा बहालवाला मन्त्रीले आफ्ना एजेन्डा पूरा नभएको भन्दै पद त्यागेर स्वतन्त्र रूपमा जनतामाझ जाने निर्णयलाई धेरैले निकै अर्थपूर्ण रूपमा हेरेका छन् ।
















