Logo

७ माघ, वीरगञ्ज । नेपाली राजनीतिमा प्रायः भनिन्छ—राजनीति सम्भावनाको खेल हो। तर पर्सा निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका सिए अजय चौरसियाका लागि राजनीति खेल होइन, राज्य प्रणालीलाई जनपक्षीय बनाउने नीतिगत संघर्ष हो।

पेशाले स्थापित चार्टर्ड एकाउन्टेन्ट (CA) तथा पूर्व बैंकर चौरसिया यतिबेला नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट “तारा” चुनाव चिन्ह लिएर जनताको घरदैलोमा छन्। उनको काँधमा केवल वित्तीय हिसाब–किताबको जिम्मेवारी मात्र छैन, पर्सावासी जनताको भरोसा र न्यायको तराजु पनि छ।

नेपाली कम्युनिस्ट पार्टीले मुलुकमा व्याप्त भ्रष्टाचार, कमिसनतन्त्र र नीतिगत बेथितिविरुद्ध थालेको राष्ट्रिय अभियानको एक बलियो कडीका रूपमा चौरसियाको उम्मेदवारीलाई हेरिएको छ। पार्टीको ‘भ्रष्टाचारमुक्त समाज र सुशासन’ को एजेन्डालाई उनले आफ्नो प्रमुख राजनीतिक संकल्प बनाएका छन्।

म केवल राजनीतिक पदका लागि नेकपाको उम्मेदवार बनेको होइन,” चौरसिया भन्छन्, “पार्टीले लिएको भ्रष्टाचारविरोधी दृढ अडान र आमूल परिवर्तनको संकल्पसँग एकाकार हुन यो मैदान रोजेको हुँ।”

लेखापरीक्षणजस्तो पारदर्शी पेशाबाट आएका कारण राज्यको ढुकुटीको सदुपयोग र आर्थिक अनुशासनलाई उनले आफ्ना चुनावी मुद्दाको केन्द्रमा राखेका छन्। वीरगञ्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा ३३ वर्षीय चौरसियाको परिचय एउटा राजनीतिक उम्मेदवारमा मात्र सीमित छैन। उनले नेपाल (ICAN) र भारत (ICAI) दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गरेका छन्। दस वर्षभन्दा बढी समय बैंकिङ र वित्तीय क्षेत्रमा बिताएका उनले कर्पोरेट सुशासनदेखि कर प्रणालीसम्मलाई नजिकबाट बुझेका छन्।

तर, उनी वातानुकूलित कार्यकक्षमा सीमित रहेनन्। मधेशको सामाजिक–आर्थिक जटिलता, सीमावर्ती व्यापारका अवरोध र बैंकिङ प्रणालीबाट सर्वसाधारणले भोग्नुपरेको आर्थिक शोषणले उनलाई सडक संघर्षतर्फ डोर्‍यायो।

सडकदेखि अदालतसम्मको संघर्ष

अजय चौरसिया आन्दोलनकारी विज्ञका रूपमा पनि परिचित छन्। वि।सं। २०७८ यता उनले बैंकहरूको अनैतिक नाफामुखी अभ्यास र चर्को ब्याजदरविरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बैंकका गलत अभ्यास सार्वजनिक गर्दा उनले साइबर अपराधको मुद्दा, पटक–पटक गिरफ्तारीजस्ता कठिनाइ पनि झेले, तर कहिल्यै पछि हटेनन्।

उनकै संघर्षका कारण धेरै पीडितले न्याय पाए भने बैंकहरू अतिरिक्त असुली रकम फिर्ता गर्न बाध्य भए। मिटरब्याज पीडितको पक्षमा उनले लडेका कानुनी मुद्दा र बाराका तत्कालीन प्रमुख जिल्ला अधिकारीविरुद्ध प्राप्त परमादेशले उनलाई न्यायको पक्षधर अभियन्ताका रूपमा स्थापित गर्‍यो। “नेपाल असफल भएको क्षमताको कमीले होइन, नीतिगत इमानदारी र कार्यान्वयन अनुशासनको अभावले हो,” उनी दृढताका साथ भन्छन्।

किन चौरसियाको उम्मेदवारी ?

राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता र विज्ञताको खोजीमा रहेका मतदाताका लागि चौरसिया आशाका किरण बनेका छन्। उनले हालसम्म १५० भन्दा बढी युवालाई कर र लेखा सम्बन्धी तालिम दिई आत्मनिर्भर बनाइसकेका छन्। नेपाली, अंग्रेजी, हिन्दी, भोजपुरी र मैथिली भाषामा दख्खल राख्ने उनी स्थानीय मुद्दालाई राष्ट्रिय बहसको विषय बनाउन सक्षम मानिन्छन्।

पर्सा–१ मा नेकपाका उम्मेदवार चौरसियाले पार्टीको मूल मर्मअनुसार सरकारी संयन्त्रभित्र मौलाउँदै गएको नीतिगत भ्रष्टाचारको जरैदेखि अन्त्य गर्ने संकल्प लिएका छन्। न्यायोचित कर प्रणाली, साना उद्यमी र श्रमिकमैत्री आर्थिक नीति, वित्तीय साक्षरता र सुरक्षा, मिटरब्याज तथा वित्तीय शोषणविरुद्ध कठोर कानुनी व्यवस्था, युवा रोजगारी, उत्पादनमुखी तथा सीपआधारित शिक्षाको प्रवर्द्धन उनका प्रमुख चुनावी प्राथमिकता हुन्।

नाराभन्दा नीति र भावनाभन्दा तथ्यलाई जोड दिने सिए अजय चौरसियाको उपस्थितिले पर्साको चुनावी माहोललाई तताएको छ। एउटा चार्टर्ड एकाउन्टेन्टले नेकपाको भ्रष्टाचारविरोधी अभियानको राँको बोकेर राज्यको ‘ब्यालेन्स सिट’ सुधार्न खोज्दा त्यसको प्रभाव कस्तो पर्ला—यो त चुनावी परिणामले नै बताउनेछ। तर, उनले उठाएका वित्तीय न्याय र सुशासनका मुद्दाले पर्सामा नयाँ राजनीतिक चेतनाको बीजारोपण भने गरिसकेको छ।


सम्बन्धित समाचार