७ माघ,काठमाडौं । भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश बदरको माग गर्दै पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा गुप्ताको निवेदनमाथि पेसी तोकिएको हो। यसअघि सर्वोच्च अदालतले उक्त निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको थियो।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गरिदिने आश्वासन दिँदै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
त्यसैगरी, आयोगले गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्न २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि लगाएको छ।
अदालतमा बयान दिँदै गुप्ताले आफूमाथि लगाइएको आरोप असत्य भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए। तर विशेष अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।
अब सर्वोच्च अदालतको सुनुवाइपछि गुप्ताको थुनामुक्ति सम्बन्धी मुद्दामा थप निर्णय हुने अपेक्षा गरिएको छ।
















