Logo

७ माघ, काठमाडौं । साताको सुरुदेखि नै लगातार उकालो लागेको सेयर बजारमा बुधबार भने सामान्य करेक्सन देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ४३ अंकले घटेर २७०५ दशमलव ३८ विन्दुमा ओर्लिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुनिश्चित भएसँगै बजारमा उत्साह देखिए पनि बुधबारको यो गिरावटलाई लगानीकर्ताहरूले स्वभाविक र दिगो वृद्धिको संकेतका रूपमा लिएका छन् । निर्वाचनपछि राजनीतिक स्थिरता आउने र बजारमैत्री सरकार बन्ने अपेक्षामा लगानीकर्ताहरू सक्रिय रहे पनि मुनाफा सुरक्षित गर्ने प्रवृत्तिले परिसूचकमा झिनो दबाब परेको हो ।

बुधबारको कारोबारमा ३२४ कम्पनीको सहभागिता रहेकोमा १७४ कम्पनीको सेयर मूल्य घटेपछि बजार सूचक नकारात्मक बनेको हो । नेप्सेसँगै ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३५ अंकले ओरालो लागेको छ । यद्यपि, कालिका पावर र नारायणी डेभलपमेन्ट बैंक जस्ता ८२ कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतसम्मले वृद्धि भएको छ। समूहगत रूपमा हेर्दा अन्य समूहबाहेक बैंकिङ, विकास बैंक, होटल, जलविद्युत र बीमा लगायतका सबैजसो उपसमूहहरूको परिसूचकमा गिरावट आएको छ ।

परिसूचकसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य कमी देखिएको छ । मंगलबार पौने १२ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बुधबार ८ अर्ब ९२ करोड रुपैयाँमा खुम्चिएको छ । यस दिन कुल ८९ हजार ७६६ पटकको कारोबारबाट २ करोड १६ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । बजार विश्लेषकहरूका अनुसार एकोहोरो बढ्नुभन्दा यसरी करेक्सन हुँदै अघि बढ्नुले बजारलाई थप परिपक्व र जोखिमरहित बनाउन मद्दत पुग्ने देखिन्छ ।


सम्बन्धित समाचार