Logo

७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको सुनुवाइ माघ १४ गतेका लागि तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहितको मुद्दाको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल नपठाएपछि अदालतले पुनः आदेश जारी गरेको थियो।

विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीका अनुसार, “अख्तियारबाट फाइल आज प्राप्त भएको छ र मुद्दाको पेसी माघ १४ गते तोकिएको छ। यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो।”

गत जेठ २२ गते अख्तियारले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले प्रतिवादीहरूबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरेको छ।

अख्तियारको दाबी अनुसार, नेपाल प्रधानमन्त्री हुँदा २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरणको अनुमति दिएको थियो। सोही बैठकको निर्णयअनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिनामिना भएको अख्तियारले ठहर गरेको छ।


सम्बन्धित समाचार
भर्खरै