७ माघ,काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गराएका ३ हजार ४८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभरका निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता नपुगेको भन्दै पाँचवटा उजुरी दर्ता भएका हुन्।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ भने सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक–एक जनाविरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ।
उजुरी परेका उम्मेदवारहरूमा भक्तपुर–२ बाट राजिव खत्री र जानुका पाठक, सुनसरी–२ बाट लालविक्रम थापा, रौतहट–१ बाट माधवकुमार नेपाल र कैलाली–१ बाट रेशम चौधरी रहेका छन्।
प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ अनुसार अनुसूची १६ बमोजिम उजुरी दर्ता गरिएको हो। निर्वाचन अधिकृतले उजुरीहरू अनुसूची १७ अनुसार दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ उजुरीकर्तालाई दिएको आयोगले जनाएको छ।
निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ताको म्याद सकिएपछि दर्ता भएका उजुरीको विवरण अनुसूची १९ अनुसार तयार गरी सम्बन्धित कार्यालयमा प्रकाशन गरिएको छ। उजुरी परेको उम्मेदवारले तोकिएको समयभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था छ।
आयोगका अनुसार आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ। माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।
















