Logo

८ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारीमाथि परेका उजुरीहरूको जाँचबुझ गरी निर्वाचन आयोगले आज (बिहीबार) उम्मेदवारको नामावली प्रकाशन गर्दैछ।

आयोगको निर्धारित कार्यतालिका अनुसार बुधबार उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकिएको थियो, जसमा देशभरबाट पाँचजना उम्मेदवार विरुद्ध उजुरी दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार भक्तपुर, सुनसरी, रौतहट र कैलाली जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारहरू विरुद्ध दाबी विरोधका उजुरी परेका हुन् । यी उजुरीहरूमाथि आज दिनभर जाँचबुझ गरी आवश्यक निर्णय लिइने र आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगको पछिल्लो तथ्याङ्क अनुसार प्रत्यक्षतर्फ कुल ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र १ जना तेस्रोलिङ्गी उम्मेदवार रहेका छन्। मनोनयन दर्ताको अन्तिम अपडेटसँगै उम्मेदवारको संख्यामा केही वृद्धि देखिएको हो ।

कार्यतालिका अनुसार माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी आयोगले गरेको छ । उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि पनि माघ ९ गते बिहानको समय उपलब्ध गराइनेछ। उम्मेदवारको नामावली प्रकाशन र चिह्न वितरणसँगै निर्वाचनको प्रचारप्रसारले थप गति लिने छ ।


सम्बन्धित समाचार