८ माघ, काठमाडौं । झापा क्षेत्र नम्बर २ को चुनावी मैदान यसपटक निकै रोचक र प्रतिक्षापूर्ण बनेको छ ।
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यस क्षेत्रले देशभरको ध्यान खिचेको छ । एमालेका प्रभावशाली नेता घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रानामगरबीचको यो हेभिवेट भिडन्तलाई स्थानीय तहमा पूर्वसभामुख र उपसभामुखको शक्ति परीक्षणका रूपमा हेरिएको छ ।
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीचको प्रतिस्पर्धाको चर्चा चुलिएकै बेला छिमेकी क्षेत्रमा हुने यो भिडन्तले राजनीतिक सरगर्मीलाई थप उचाइमा पुर्याएको छ ।
यसपटकको प्रतिस्पर्धा केवल घिमिरे र रानामगरमा मात्र सीमित छैन । चुनावी मैदानमा तीन जना प्रभावशाली महिला र दुई जना अधिवक्ताहरूको उपस्थिति छ, जसले गर्दा चुनावी नतिजाको अड्कलबाजी गर्न कठिन भएको छ । नेकपाबाट पूर्वमन्त्री धर्मशीला चापागाईं र नेपाली कांग्रेसबाट पूर्वसांसद सरिता प्रसाईंले उम्मेदवारी दिएका छन् । चापागाईं २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसका पाका नेता चक्र बास्तोलालाई पराजित गरेर चर्चामा आएकी थिइन् भने प्रसाईं तिनै बास्तोलाकी भान्जी हुन् । यसका साथै स्वतन्त्र उम्मेदवारका रूपमा अधिवक्ता युवराज संग्रौला र राप्रपाका तर्फबाट अधिवक्ता भद्रप्रसाद नेपाल ९स्वागत० पनि मैदानमा उत्रिएका छन् ।
विगतको चुनावी इतिहासलाई हेर्दा यो क्षेत्रमा एमालेको बलियो पकड देखिन्छ । २०७९ को निर्वाचनमा एमालेका देवराज घिमिरे २८ हजार ७ सय १६ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला स्वतन्त्र उम्मेदवारी दिएका भद्रप्रसाद नेपालले २६ हजार ४ सय ५५ मतका साथ घिमिरेलाई कडा चुनौती दिएका थिए । तर, यसपटक नेपाल राप्रपाको चुनाव चिन्ह लिएर मैदानमा आएका कारण मतदातामा केही फेरबदल हुन सक्ने स्थानीयको अनुमान छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले पहिलो र रास्वपाले दोस्रो स्थान हासिल गरेका थिए, जसले यसपटक घिमिरे र रानामगरबीचको मुख्य प्रतिस्पर्धा हुने संकेत गर्दछ ।
उम्मेदवारहरूको पृष्ठभूमि र उनीहरूमाथि लागेका आरोप(प्रत्यारोपले पनि चुनावी बहसलाई रोचक बनाएको छ । रास्वपाकी रानामगरमाथि उपसभामुख पदमा रहँदा पदीय मर्यादा विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको विवाद अझै सेलाएको छैन । अर्कोतर्फ, कांग्रेसकी प्रसाईं र रास्वपाकी रानामगर पहिलोपटक प्रत्यक्ष निर्वाचनमा भिड्दै छन्, उनीहरू यसअघि समानुपातिक प्रणालीमार्फत सदनमा पुगेका थिए । १ लाख ४७ हजारभन्दा बढी मतदाता रहेको यस क्षेत्रमा थपिएका १३ हजार नयाँ मतदाताको निर्णायक मतले कसको पल्ला भारी बनाउने हो, त्यो भने हेर्न बाँकी नै छ ।
















