८ माघ, वीरगञ्ज । ट्रेकिङ र पर्वतारोहणप्रति गहिरो रुचि राख्ने वीरगञ्जकी नूतन पोद्दार सरावगीले विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट अकोंकागुआ (६,९६१ मिटर) सफलतापूर्वक आरोहण गर्दै इतिहास रचेकी छन्। उनी अकोंकागुआ आरोहण गर्ने नेपालकी पहिलो मारवाडी महिला बनेकी हुन्।
अर्जेन्टिनामा अवस्थित अकोंकागुआ हिमाल विश्वकै सबैभन्दा चुनौतीपूर्ण र कठोर हिमालमध्ये एक मानिन्छ। अत्यन्तै न्यून तापक्रम, तीव्र हावा र अक्सिजनको कमीबीच गरिएको यो आरोहण केवल शारीरिक क्षमता होइन, मानसिक दृढताको पनि कडा परीक्षा हो। यस्तो कठिन चुनौती पार गर्दै नूतन सरावगीले साहस, धैर्य र आत्मविश्वासको अद्वितीय उदाहरण प्रस्तुत गरेकी छन्।
नूतन सरावगी यसअघि पनि विभिन्न चर्चित हिमाल तथा ट्रेकिङ गन्तव्यहरूमा सफल यात्राहरू पूरा गर्दै आएकी छन्। उनले सन् २०२१ मा मार्दी हिमाल ट्रेक, २०२२ मा तिलिचो तालसम्मको कठिन यात्रा सम्पन्न गरिन्। सन् २०२४ को जुन महिनामा भारतको हिमाचल प्रदेशस्थित फ्रेन्डसिप पिक (करिब ५,२८९ मिटर) आरोहण गरेकी उनले सन् २०२५ को मार्चमा अफ्रिकाको सर्वोच्च शिखर मानिने माउन्ट किलिमञ्जारो (५,८९५ मिटर) पनि सफलतापूर्वक आरोहण गरेकी थिइन्। त्यही वर्षको अक्टोबरमा उनले पून हिल ट्रेक समेत पूरा गरेकी हुन्।
लगातार चुनौतीपूर्ण गन्तव्यहरू पार गर्दै आएकी सरावगीले अकोंकागुआ आरोहणपछि अब विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना रहेको बताएकी छन्।
पर्वतारोहणप्रतिको आफ्नो अनुभूति व्यक्त गर्दै नूतन सरावगी भन्छिन्, “मलाई पर्वतारोहण प्रिय छ, किनकि पहाडहरूले मलाई मेरो वास्तविक स्वरूपसँग साक्षात्कार गराउँछन्। त्यहाँ कुनै देखावटीपन चल्दैन—न पद, न पहिचान, न सुविधा। हुन्छ त केवल तपाईं, तपाईंका सासहरू र तपाईंका सीमाहरू।”
उनका अनुसार प्रत्येक आरोहणले बाहिरभन्दा भित्रको संघर्ष जित्न सिकाउँछ। “जब शरीरले हार मान्न थाल्छ, त्यतिबेला मनले अघि बढ्न सिकाउँछ। पहाडहरूले मलाई धैर्य, विनम्रता र आत्मविश्वास दिएका छन्, र यही कारणले म बारम्बार त्यहीँ फर्किन्छु,” उनी भन्छिन्।

एक महिलाको रूपमा पर्वतारोहणलाई उनी शक्ति र आत्मनिर्णयको प्रतीक मान्छिन्। “शक्ति केवल शरीरमा होइन, निर्णय गर्ने क्षमता र अडिग भएर उभिन सक्ने सामर्थ्यमा हुन्छ। पहाडहरूले मलाई सम्झाइरहन्छन्—डरको पारि नै वास्तविक स्वतन्त्रता हुन्छ,” उनको भनाइ छ।
पर्वतारोहण मात्र होइन, सञ्चार र समाजसेवामा पनि सक्रिय नूतन सरावगी वीरगञ्जस्थित सामुदायिक रेडियो नारायणी एफएम तथा रेस नेपालकी उपाध्यक्ष हुन्। विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आएकी उनी समाजसेवामा रुचि राख्ने व्यक्तित्वका रूपमा पनि परिचित छिन्।
नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाले नूतन सरावगीको उपलब्धिको खुलेर प्रशंसा गर्दै भने, “नूतनको यो सफलता केवल व्यक्तिगत उपलब्धि होइन, यो सम्पूर्ण महिला समुदाय र समाजका लागि प्रेरणाको स्रोत हो।”
सामान्यतया व्यापार र उद्यमसँग जोडिने मारवाडी समुदायकी महिलाले हिमालसँगको यात्रामा यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्नु सामाजिक सोच परिवर्तनतर्फको बलियो सन्देश भएको देवकोटाको भनाइ छ। विशेषगरी तराई–मधेश क्षेत्रका महिला र युवाका लागि नूतन सरावगीको साहसिक यात्रा प्रेरणादायी बनेको छ।
हिमाल चढ्ने उनको यात्राले अब केवल उचाइ मात्र होइन, सपना, सम्भावना र साहसको नयाँ शिखर देखाएको छ। लगातार चुनौतीपूर्ण हिमालहरू चढ्दै आउनु भएकी सरावगीको यो उपलब्धिलाई महिला सशक्तीकरण र साहसिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिएको छ।
नूतन सरावगीको ऐतिहासिक सफलताप्रति बिरगञ्ज साइक्लिङ क्लबले हार्दिक बधाई तथा सम्मान व्यक्त गरेको छ। क्लबका अध्यक्ष संजय कुमार अग्रवालले सामाजिक संजालमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “यो यात्रा केवल पहाड चढ्ने मात्र होइन, हिम्मत, धैर्य र आत्मविश्वासको प्रतीक हो। तपाईंको सफलता हामी सबैका लागि प्रेरणादायी छ।”

















