काठमाडौं । पछिल्लो समय लगातार बढ्दै गएर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन बुधबार प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेर हालसम्मकै महँगो बनेको सुन आज घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा झरेको छ । एकैदिन झन्डै तीन हजार रुपैयाँले मूल्य घट्दा सुनको निरन्तरको महँगीबाट उपभोक्ताले केही राहत महसुस गरेका छन् ।
सुनसँगै बहुमूल्य धातु चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । बुधबार प्रतितोला ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५० रुपैयाँले सस्तो हुँदै ५ हजार ८ सय ७० रुपैयाँमा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तरचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ । विश्व बजारमा आज सुन प्रतिऔँस ४ हजार ६ सय ९५ अमेरिकी डलर र चाँदी ९५ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ ।
















