८ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षका बीच विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति भोलि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने भएको छ ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिनुभएका थापाले आफ्ना पदाधिकारी र केन्द्रीय सदस्यसहित दिउँसो १ बजे पदबहाली गर्ने तयारी गर्नुभएको हो । लामो समयको अन्योल र कानुनी अड्चनपछि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत हरियो झण्डा पाएपछि थापा नेतृत्वको टोली पार्टीको आधिकारिक नेतृत्व सम्हाल्न सानेपा जान लागेको हो ।
यो नयाँ कार्यसमितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलसहित विभिन्न क्लस्टरका सात जना सहमहामन्त्रीहरू र १३५ सदस्यीय केन्द्रीय सदस्यहरू रहेका छन् । १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माकै अगुवाइमा विशेष महाधिवेशन बोलाइएको थियो, जसलाई तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले विधान विपरीत भन्दै अस्वीकार गर्दै आएका थिए। तर, विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोग र अदालतसम्म पुगेको थियो ।
निर्वाचन आयोगले यसअघि नै थापा नेतृत्वको समितिलाई राजनीतिक दलसम्बन्धी कानुनअनुसार आधिकारिकता प्रदान गरिसकेको छ । त्यस्तै, देउवा र कोइराला पक्षले विशेष महाधिवेशन रोक्न र नयाँ समितिलाई काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि थापा पक्षलाई राजनीतिक र कानुनी रूपमा ठूलो सफलता मिलेको हो ।
संस्थापन पक्षको कडा विरोधका बाबजुद पनि भोलि हुने पदबहाली कार्यक्रमले नेपाली कांग्रेसको राजनीतिमा नयाँ मोड ल्याउने र नेतृत्वको शक्ति सन्तुलनमा व्यापक फेरबदल हुने देखिएको छ ।
















