८ माघ, काठमाडौं । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट हुने वैदेशिक निर्यातमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उल्लेख्य सुधार देखिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ४८ अर्ब १० करोड रुपैयाँ बराबरका स्वदेशी वस्तुहरू विदेशी मुलुकमा निर्यात भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशत अर्थात् १६ अर्ब ४३ करोड रुपैयाँले बढी हो । गत वर्षको पहिलो ६ महिनामा यस नाकाबाट मात्र ३१ अर्ब ६७ करोड रुपैयाँको सामान निर्यात भएको थियो ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार निर्यातमा आएको यो उछालले मुलुकको वैदेशिक व्यापार सन्तुलनमा सकारात्मक संकेत गरेको छ । वीरगञ्ज नाकाबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा ठूलो हिस्सा प्रशोधित तेलको रहेको छ। तथ्याङ्कअनुसार यस अवधिमा २५ अर्ब ४२ करोड रुपैयाँको प्रशोधित भटमासको तेल मात्रै निर्यात भएको छ । त्यस्तै, ३ अर्ब ५५ करोडको सूर्यमुखी तेल र २ अर्ब २५ करोड रुपैयाँ बराबरको पाम तेल पनि बाह्य मुलुकमा पठाइएको छ ।
खाद्य सामग्रीका अतिरिक्त औद्योगिक उत्पादनको निर्यातमा पनि वीरगञ्ज नाका सक्रिय देखिएको छ । यस ६ महिनाको अवधिमा ३ अर्ब ४८ करोड मूल्य बराबरको फलफूलको जुस र १ अर्ब ७८ करोड रुपैयाँका विभिन्न किसिमका कपडाहरू निर्यात भएका छन् ।
कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर पुनः निर्यात गरिने वस्तुहरूको माग अन्तर्राष्ट्रिय बजारमा बढेसँगै वीरगञ्ज नाकाको व्यापारिक सक्रियता थप चुलिएको हो ।
















