८ माघ, काठमाडौं । राजनीतिमा कतिपय निर्णयहरू व्यक्तिगत रूपमा पीडादायी र अन्यायपूर्ण लाग्न सक्छन्, तर सच्चा सिपाहीले संगठनको हितका लागि ती सबै आवेगलाई त्याग्न सक्नुपर्छ भन्ने दृष्टान्त नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रस्तुत गर्नुभएको छ ।
सुनसरीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले पार्टीभित्र टिकट वितरण र उम्मेदवारीलाई लिएर भएका बहस र असन्तुष्टिहरू माघ ६ गतेअघिको कुरा भइसकेको भन्दै अब ती सबै भावनालाई थाती राखेर ‘सूर्य ध्वजाबाहक’ उम्मेदवारहरूलाई जिताउन एकढिक्का हुन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ । उहाँको यो अभिव्यक्तिमा आफ्नो व्यक्तिगत असन्तुष्टि वा अन्यायभन्दा माथि उठेर पार्टीको विजयलाई नै सर्वोपरी मान्ने एक परिपक्व र ठूलो छाती भएको नेताको छवि झल्किएको छ ।
आफ्नो स्वभाविक दाबी वा चाहनाभन्दा फरक परिस्थिति आए पनि भट्टराईले अहिलेको मुख्य लडाइँ एमालेभित्र को उम्मेदवार भयो भन्ने नभई, एमालेलाई जिताउने र देशको नेतृत्व सुम्पिने रहेको स्पष्ट पार्नुभएको छ । उहाँले टिकट वितरणको समीक्षा गर्ने समय अहिले नभएको भन्दै कार्यकर्ताहरूलाई निराश नहुन र आन्तरिक एकतालाई थप मजबुत बनाउन अपिल गर्नुभयो । ‘जसले टिकट पाए पनि ती एमालेका उम्मेदवार हुन्, अब हामी अरूसँगको प्रतिस्पर्धामा उत्रिसकेकाले सबै कमरेडहरूको पक्षमा दृढतापूर्वक उभिनुपर्छ,’ भन्ने उहाँको तर्कले पार्टीभित्र देखिन सक्ने सम्भावित विद्रोह वा बागी धारलाई साम्य पार्न र कार्यकर्तामा नयाँ ऊर्जा भर्न खोजेको देखिन्छ ।
एमालेका लागि हरेक निर्वाचन चुनौतीपूर्ण रहने गरेको यथार्थलाई स्वीकार्दै भट्टराईले अबको लक्ष्य एमालेको नेतृत्वमा सरकार गठन गर्नु नै रहेको बताउनुभयो । उम्मेदवारका विषयमा हुने कुनै पनि गुनासो वा समीक्षा फागुन २१ पछि मात्रै गरिने भन्दै उहाँले अहिलेको घडीमा व्यक्तिगत तुस वा अन्यायको अनुभूतिलाई बिर्सिएर चुनावमा होमिनु नै वास्तविक पार्टी भक्ति हुने सन्देश दिनुभएको छ ।
यसरी आफूलाई परेको अन्यायलाई मौन समर्थन गर्दै पार्टीको वृहत्तर स्वार्थका लागि अपिल गर्ने भट्टराईको यो शैलीले एमाले वृत्तमा उहाँको कद र उदारताको चर्चा चुलिएको छ ।
















