Logo

८ माघ, बारा । बास्केटबल कोर्टमा बल पास गर्ने, रणनीति बुन्ने र समयको सन्तुलन मिलाउन पोख्त राष्ट्रिय खेलाडी अजय कुशवाहा यतिबेला जीवनकै सबैभन्दा ठूलो र फरक ुखेलु को मैदानमा उत्रिएका छन्। २७ वर्षीय कुशवाहा अब केवल खेलकुदमा सीमित नरही बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट संसदीय राजनीतिको प्रत्यक्ष प्रतिस्पर्धामा होमिएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई उम्मेदवार बनाएपछि बाराको राजनीतिमा नयाँ बहस र उत्साह दुवै सुरु भएको छ।

जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलका अनुसार अजयको उम्मेदवारी केवल एक व्यक्तिको छनोट मात्र नभई जेनजी (Gen Z) पुस्ताको आन्दोलन र भावनाको सम्बोधन हो। मेयर पौडेलले बारा–४ मा पार्टीले युवाहरूको प्रतिनिधित्वलाई प्राथमिकता दिएको बताउँदै भने, “युवाहरूको आवाज संसदसम्म पुर्‍याउन नेकपाले देशभर अधिकांश स्थानमा युवाहरूलाई अवसर दिएको छ, बारा–४ मा अजय त्यसैको प्रतीक हुन्।”

नेकपाका केन्द्रीय सदस्य एवं बाराका तत्कालीन इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठले पनि अजयको उम्मेदवारीले जिल्लामा नयाँ ऊर्जा थपेको बताए। सुरुमा पार्टीका साथीहरूले आफूलाई चुनाव लड्न आग्रह गरे पनि खेलकुदको माध्यमबाट बाराको नाम राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल अजयको नाम आएपछि आफू पछि हटेको श्रेष्ठले खुलासा गरे। उनले भने, “अजयको नाम आएपछि क्षेत्र नं. ४ का जनतामा जुन उत्साह देखिएको छ, त्यसले जित सुनिश्चित देखिन्छ।”

बास्केटबलमा टिमवर्क र अनुशासनका लागि चिनिएका अजयका लागि राजनीतिक यात्रा नयाँ र चुनौतीपूर्ण छ। खेलमैदानमा पाएको लोकप्रियतालाई मतपेटिकासम्म पुर्‍याउनु उनको मुख्य कार्यभार हो। कतिपयले उनलाई नेकपा बाराका प्रभावशाली नेता रामचन्द्र प्यासीका छोरा भएकाले राजनीतिक विरासतु को जगमा उम्मेदवार बनेको टिप्पणी गरे पनि अजय त्यसलाई स्वीकार्दैनन्।

“म काठमाडौंमा रहँदा पनि पार्टीका गतिविधिमा सक्रिय नै थिएँ,” अजय स्पष्ट पार्छन्, “देशको आवश्यकता र जेनजी समूहको मर्म बुझेर नै पार्टीले मलाई यो जिम्मेवारी दिएको हो। यो मेरो व्यक्तिगत चाहनाभन्दा पनि पार्टी र जिल्लाको आवश्यकता हो।”

बारा–४ का हेभीवेट सँगको प्रतिस्पर्धा

आगामी फागुन २१ गते हुने मतदानमा अजयको प्रतिस्पर्धा राजनीतिमा पुराना र अनुभवी अनुहारहरूसँग हुँदैछ। उनका मुख्य प्रतिस्पर्धीहरूमा नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसान छन् । उनी सोही क्षेत्रका निवर्तमान सांसद।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रहबर अन्सारी उमेदवार बनेका हुन । उनी नेपाली कम्युनिष्ट पार्टी परित्यागगरी रास्वपाबाट बारामा गएर उमेदवार बनेका हुन । रहबरको स्थायी घर भने वीरगञ्ज हो । नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ता चुनावी मैदानमा छन् ।

एमालेका उमेदवार किसान श्रेष्ठ एकपटक टेष्ट भइसकेका र त्यस क्षेत्रका जनताको पक्षमा कुनै काम गर्न नसकेका व्यक्ति भएको उनको बुझाई छ । किसान व्यापारी हुन उनले व्यापारीक हित भन्दा जनताको हितलाई प्राथमिकता दिन सक्दैनन् कुशवाहाले भने । यी स्थापित राजनीतिक खेलाडीहरूका बीच अजयले आफ्नो बास्केटबल रणनीति कसरी प्रयोग गर्छन् भन्नेमा सबैको चासो छ।

खेलकुद महासंघको केन्द्रीय सदस्य र काठमाडौं–बारा सम्पर्क मञ्चको नेतृत्व सम्हालिसकेका अजयलाई युवा मतदाताहरूको ठूलो साथ रहने अपेक्षा गरिएको छ। खेलमैदानमा ताली बटुल्दै आएका उनलाई अब मतदाताको विश्वास जित्न घर–दैलोमा पसिना बगाउनुपर्नेछ।

संसदसम्मको यो कठिन यात्रा सफल हुन्छ वा हुँदैन, त्यसको अन्तिम फैसला बारा–४ का मतदाताले आगामी फागुन २१ गते गर्नेछन्। तर, अजयको उम्मेदवारीले नेपाली राजनीतिमा अब जेनजी पुस्ताको हस्तक्षेप सुरु भएको बलियो सन्देश भने दिइसकेको छ।


सम्बन्धित समाचार