५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह यतिबेला आक्रामक चुनावी दौडधुपमा निस्किनुभएको छ ।
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर भावी प्रधानमन्त्रीको एजेन्डासहित चुनावी मैदानमा होमिनुभएका शाह मधेस र तराईको रापिलो चुनावी माहौलपछि अहिले पूर्वी पहाड उक्लिएका छन् । हिजो झापामा आफ्नै उम्मेदवारी दर्ता र चुनावी रणनीतिमा व्यस्त रहनुभएका उनी आज बिहानै इलाम पुगेर मतदाता र पार्टीका स्थानीय उम्मेदवारहरूसँग साक्षत्कार गर्दै अहिले पाँचथर पुग्नुभएको छ ।
बालेनको यो दौडाहा केवल आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित छैन, उनी देशभर रास्वपाको पक्षमा जनलहर सिर्जना गर्ने ‘स्टार क्याम्पेनर’ को भूमिकामा देखिएका छन् । इलाममा उम्मेदवारहरू विमल गदाल र गोकुलबहादुर राईलाई भेटेर चुनावी रणनीतिबारे छलफल गरेलगत्तै पाँचथर पुग्नुभएका शाहले त्यहाँका रास्वपा उम्मेदवारको पक्षमा मत माग्दै मतदाताहरूसँग सीधा संवाद गरिरहेका छन् । शाह पाँचथर पुग्दा स्थानीय युवा र समर्थकहरूको ठूलो भिडले उनलाई भव्य स्वागत गरेको छ, जसले पूर्वी पहाडमा पनि वैकल्पिक राजनीतिको प्रभाव बढ्दै गएको संकेत गर्दछ ।
झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको ‘हाइ–प्रोफाइल’ भिडन्तको तयारी गरिरहेका बालेनले आफ्नो चुनावी अभियानलाई मधेसको जनकपुरबाट सुरु गरेर अहिले पहाडी जिल्लाहरूमा केन्द्रित गरेका हुन् । उनले मतदाताहरूसँगको भेटमा ‘देशलाई अब लोकप्रिय नारा मात्र होइन, इमानदार र डेलिभरी दिन सक्ने नेतृत्व चाहिएको’ बताउँदै आएका छन् ।
बालेनको यो तीव्र गतिको दौडले परम्परागत दलका उम्मेदवारहरूलाई झस्काएको छ भने नयाँ पुस्ताका मतदाताहरूमा उत्साह थपेको छ । पाँचथरपछि उनी ताप्लेजुङ पुगेर पाथीभराको दर्शन गर्ने र त्यहाँको चुनावी माहौल बुझ्ने कार्यक्रम रहेको छ ।
















