Logo

८ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष र कानुनी दाउपेचका बीच विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमिति भोलि शुक्रबार पहिलोपटक आधिकारिक रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा प्रवेश गर्दैछ ।

पुस ३० गते निर्वाचित भए पनि पार्टी कार्यालयमा देखिएको अवरोध र अन्योलका कारण अहिलेसम्म होटलहरूबाटै कार्यसम्पादन गर्दै आएको यो टोली दिउँसो १ बजे सानेपा पुगेर पदबहाली गर्ने तयारीमा छ । महामन्त्री प्रदीप पौडेलले भोलिको सानेपा यात्राको पुष्टि गर्नुभएको छ भने प्रवक्ता देवराज चालिसेले भोलि नै केन्द्रीय कार्यालयमा समितिको बैठक बस्ने जानकारी दिनुभएको छ ।

सानेपामा बस्ने यो पहिलो बैठक केवल पदबहालीमा मात्र सीमित हुने छैन, यसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको रणनीतिक मोड नै बदल्ने सङ्केत गरेको छ । पार्टी स्रोतका अनुसार सोही बैठकले सभापति गगनकुमार थापालाई कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गर्ने प्रबल सम्भावना छ ।

नेकपा एमालेले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिसकेको अवस्थामा कांग्रेसले पनि गगन थापालाई नै प्रोजेक्ट गरेर चुनावमा होमिने तयारी गरेको हो । यस निर्णयले युवा पुस्ताका मतदाताहरूलाई आकर्षित गर्ने र निर्वाचनमा नयाँ उत्साह थप्ने कांग्रेसको विश्वास छ ।

यसअघि विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको शेरबहादुर देउवा समूहका नेताहरूले पनि अन्ततः परिस्थितिलाई स्वीकार गर्दै गगन थापाकै हस्ताक्षर भएको आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन् । सर्वोच्च अदालतले देउवा समूहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि र निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता दिएपछि सानेपा कार्यालयमा धर्ना दिइरहेका तरुण दलका कार्यकर्ताहरूले पनि अहिले कार्यालय छोडिसकेका छन् ।

भोलिको बैठकले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गरी चुनावी अभियानलाई एकीकृत रूपमा अगाडि बढाउने र गगनलाई प्रधानमन्त्रीको अनुहारका रूपमा देशव्यापी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार