८ माघ,वीरगञ्ज । वीरगञ्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट पुरानो ऐतिहासिक रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने योजनाअन्तर्गत आज स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको योजनाबारे सरोकारवालाहरूबीच छलफल गरिएको हो।
स्थलगत निरीक्षण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, महानगरपालिकाका हरियाली संयोजक तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्तालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
निरीक्षणका क्रममा प्रस्तावित स्थानको वर्तमान अवस्था, उपलब्ध पूर्वाधार, सम्भाव्यता तथा रेल्वे संग्रहालय स्थापनाका लागि आवश्यक प्रक्रिया र समन्वयका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ। सहभागीहरूले जनकपुरमा रहेको ऐतिहासिक महत्व बोकेको पुरानो रेल शीघ्र वीरगञ्ज ल्याई संग्रहालय निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
नगर प्रमुख सिंहले रेल्वे संग्रहालय स्थापना भएमा वीरगञ्जको ऐतिहासिक पहिचान थप मजबुत हुने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले नेपालको रेल्वे इतिहासबारे जानकारी प्राप्त गर्ने अवसर पाउने बताउनुभयो। उहाँका अनुसार यो योजना महानगरपालिकाको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास रणनीतिसँग पनि मेल खानेछ।
निरीक्षण टोलीले आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो जनकपुरबाट रेल ल्याउने र संग्रहालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तावित रेल्वे संग्रहालय वीरगञ्जको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।
















