८ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) १२ दिन पछि सरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले निर्वाचनको कार्यतालिका र व्यवस्थापकीय तयारीलाई मध्यनजर गर्दै नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार अब एसईई आगामी चैत १९ गतेदेखि सुरु भएर चैत २९ गतेसम्म सञ्चालन हुनेछ । गत वर्ष चैत ७ गतेदेखि नै परीक्षा सुरु हुने गरेकोमा यसपटक चुनावको प्रत्यक्ष प्रभाव शैक्षिक क्यालेन्डरमा परेको हो । परीक्षा पछि सर्नुको मुख्य प्राविधिक कारण मतपत्र र प्रश्नपत्र छपाइको चाप रहेको बोर्डले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र र एसईईको प्रश्नपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रमा नै छपाइ हुने गर्दछन् । अहिले केन्द्रमा मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेकाले उक्त कार्य सकिएलगत्तै प्रश्नपत्र छाप्ने तयारी बोर्डले गरेको छ । मतपत्र छपाइकै कारण प्रश्नपत्र तयार गर्न समय लाग्ने भएपछि बोर्डले फागुनको अन्तिम साता हुनुपर्ने परीक्षालाई चैतको तेस्रो साता पुर्याएको हो ।
५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै
यस वर्षको एसईईमा देशभरबाट कुल ५ लाख १७ हजार विद्यार्थीहरू सहभागी हुनका लागि परीक्षा फारम भरेका छन् । निर्वाचनको चटारो र त्यसपछि लगत्तै हुने परीक्षाले विद्यार्थी र अभिभावकमा केही अन्योल थपे पनि बोर्डले तालिका सार्वजनिक गरेसँगै तयारीका लागि थप समय मिलेको छ । बोर्डका अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने २९ गते प्राविधिक तथा अन्य ऐच्छिक विषयहरूको परीक्षासँगै यस वर्षको एसईई समापन हुनेछ ।
















