५ माघ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबार र शनिबार देशका अधिकांश भूभागमा मौसमी प्रणालीमा फेरबदल भई वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ ।
विभागले बिहीबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशहरूमा बदली, वर्षा र हिमपातको उच्च सम्भावना देखिएको हो । विशेषगरी शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म पश्चिम नेपालबाट सुरु हुने यो मौसमी प्रणालीले बागमती र कोसी प्रदेशसम्म प्रभाव पार्ने देखिएको छ, जसका कारण चिसो थप बढ्ने अनुमान गरिएको छ ।
विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षासँगै उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपातको चेतावनी दिइएको छ । बागमती प्रदेशका उच्च पहाडी भूभागमा पनि थोरै स्थानमा हिमपात र हल्का वर्षाको सम्भावना रहँदा कोसी प्रदेशको हिमाली क्षेत्रमा भने फाट्टफुट्ट वर्षा र हिउँ पर्ने देखिएको छ । मधेस प्रदेशमा भने यो मौसमी प्रणालीको प्रभाव नगन्य रहने र वर्षाको सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष सावधानी अपनाउन आग्रह गर्दै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा असिनासमेत पर्न सक्ने चेतावनी दिएको छ । यो प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, पर्यटन व्यवसाय, स्वास्थ्य तथा हवाई र सडक यातायातमा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ । विभागले यात्रामा निस्कनुअघि र बाहिरी गतिविधि गर्नुअघि अद्यावधिक मौसमी सूचना लिन र विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।
















