८ माघ, काठमाडौँ । नेपाली क्रिकेटको ‘मक्का’ मानिने कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।
सहरी विकास मन्त्रालयले यो रंगशालाको स्तरोन्नति र विकासलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय गौरवका आयोजना सरहकै महत्त्व प्रदान गरेको हो । सरकारको यो निर्णयसँगै लामो समयदेखि व्यवस्थित पूर्वाधारको पर्खाइमा रहेको कीर्तिपुर रंगशालाले अब अत्याधुनिक र सुविधासम्पन्न स्वरूप पाउने निश्चित भएको छ ।
वर्तमान सरकारले यसअघि नै रंगशालाको विस्तृत गुरुयोजना (मास्टरप्लान) स्वीकृत गरिसकेको छ । सोही गुरुयोजना अनुसार काम अगाडि बढाउन सहरी विकास मन्त्रालयले नयाँ सम्झौताका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन समेत दिइसकेको छ । मन्त्रिपरिषद्को बैठकले रंगशालाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया कानुन सम्मत ढंगले अगाडि बढाउन त्रिभुवन विश्वविद्यालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समेत समन्वय गर्न जिम्मेवारी सुम्पिएको छ ।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना कार्यान्वयनका लागि सरकारले थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । यो ठूलो लगानीमार्फत रंगशालाको दर्शक क्षमतामा वृद्धि गरिनेछ भने खेलाडीका लागि अत्याधुनिक ड्रेसिङ रुम, फ्लड लाइट, डिजिटल स्कोरबोर्ड र अन्तर्राष्ट्रिय स्तरको मिडिया सेन्टर जस्ता संरचनाहरू थपिनेछन् ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा परेसँगै अब यसको बजेट विनियोजन र निर्माण कार्यमा हुनसक्ने प्रशासनिक ढिलासुस्ती अन्त्य हुने र नेपाली क्रिकेटले विश्वस्तरको घरेलु मैदान पाउने अपेक्षा गरिएको छ ।
















