८ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि ५ बुँदे लिखित स्पष्टीकरण पेस गर्नुभएको छ ।
राष्ट्रपतिबाट प्राप्त माफी मिनाहाको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै परेको उजुरीको जवाफ दिँदै उहाँले आफूले पाएको माफी आंशिक नभई संविधान र कानुन बमोजिमको पूर्ण माफी भएको दाबी गर्नुभएको हो । चौधरीले निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको स्पष्टीकरणमा आफ्नो आपराधिकता मेटिएको र निर्वाचन लड्न कुनै कानुनी बाधा नरहेको तर्क गर्नुभएको छ ।
स्पष्टीकरणका क्रममा चौधरीले राष्ट्रपति कार्यालयबाट जारी भएको माफीको पत्रमा बाँकी कैद माफी भन्ने वाक्यांश नभई अदालतको फैसला बमोजिम लागेको कैद सजाय माफी भन्ने शब्द प्रयोग भएको उल्लेख गर्नुभएको छ । यसको अर्थ आफूलाई लागेको कैद सजाय पूरै मिनाहा भएको र यसले सजायको दायित्वबाट पूर्ण रूपमा मुक्त गराएको उहाँको बुझाइ छ ।
आंशिक माफीको हकमा मात्र आपराधिकता नमेटिने नजिर रहेको भन्दै उहाँले आफ्नो हकमा भने १९ जनालाई दिइएको सामूहिक माफीको प्रकृति पूर्ण रहेकाले उम्मेदवारी खारेज हुनुपर्ने कुनै आधार नभएको जिकिर गर्नुभएको छ ।
चौधरीले आफ्नो उम्मेदवारीलाई लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा व्याख्या गर्दै आफूविरुद्धको उजुरी पूर्वाग्रही रहेको संकेत गर्नुभएको छ। कैद सजाय माफी पाइसकेपछि व्यक्ति पुनः नागरिक अधिकार उपभोग गर्न योग्य हुने दाबी गर्दै उहाँले निर्वाचन आयोगले आफ्नो उम्मेदवारीलाई सदर गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
कैलाली–१ मा निकै लोकप्रिय मानिनुहुने चौधरीको उम्मेदवारी कायम रहने वा नरहने भन्ने विषयले सुदूरपश्चिमको चुनावी समीकरणमा ठूलो अर्थ राख्ने देखिएकाले अहिले सबैको ध्यान निर्वाचन अधिकृतको निर्णयतर्फ सोझिएको छ ।
















