८ माघ, काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएपछि सिर्जित राजनीतिक हलचल साम्य पार्न पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय हुनुभएको छ ।
बागी उम्मेदवारीका मुख्य योजनाकार मानिएका नेता हरिबोल गजुरेलसहितका असन्तुष्ट पक्षलाई प्रचण्डले छलफलका लागि तत्काल काठमाडौं बोलाउनुभएको हो । टिकट वितरणमा देखिएको यो गम्भीर विवादले पार्टीको आन्तरिक समीकरणमै धक्का पुगेपछि शीर्ष नेतृत्वले यसलाई सुल्झाउन पहल थालेको हो ।
प्रचण्डको निम्तो पाएलगत्तै नेता गजुरेल, बागी उम्मेदवार महेश्वर दाहाल, जिल्ला संयोजक पानीराज बम्जन र इन्चार्ज वसन्त माझीसहितको टोली सिन्धुलीबाट काठमाडौंतर्फ प्रस्थान गरिसकेको छ । बाटोमै रहँदा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गजुरेलले नेतृत्वसँग छलफल हुने भए पनि आफूहरूको अडानमा कुनै परिवर्तन नआउने प्रष्ट पार्नुभएको छ । पार्टीभित्रको अन्यायपूर्ण निर्णयका विरुद्ध यो विद्रोह भएको संकेत गर्दै उहाँले परिस्थितिलाई ुअगाडि चट्टान र पछाडि भीरु को संज्ञा दिनुभएको छ ।
नेता गजुरेलको पछिल्लो अभिव्यक्तिले सिन्धुली नेकपामा देखिएको यो विवाद सहजै सुल्झिने संकेत भने दिएको छैन । उहाँले ‘भीरबाट खस्ने कुरा नभएको र चट्टान फोडेरै भए पनि अगाडि बढ्ने’ भन्दै बागी उम्मेदवारी फिर्ता नलिने दृढता व्यक्त गर्नुभएको छ ।
संयोजक प्रचण्डसँगको भेटमा आफूहरूले जिल्लाको वास्तविक मनोविज्ञान र कार्यकर्ताको भावना राख्ने तयारी गरे पनि नेतृत्वले उनीहरूलाई कसरी मनाउँछ र बागी उम्मेदवारी निष्क्रिय बनाउँछ भन्ने कुराले सिन्धुलीको चुनावी परिणाममा ठूलो अर्थ राख्ने देखिएको छ ।
















