८ माघ, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो तयारीलाई युद्धस्तरमा अगाडि बढाएको छ ।
आयोगले फागुनको पहिलो हप्ताभित्रै देशका ७७ वटै जिल्लाका सबै मतदान केन्द्रहरूमा मतपत्र पुर्याइसक्ने लक्ष्यसहित ढुवानी र छपाइको कार्यतालिका सार्वजनिक गरेको हो । माघ ९ गते उम्मेदवारहरूलाई अन्तिम निर्वाचन चिन्ह प्रदान गरेलगत्तै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने र माघ मसान्तभित्रै छपाइको काम सकेर फागुनको सुरुवातमै ढुवानी गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
समानुपातिकतर्फको तयारी भने करिब अन्तिम चरणमा पुगिसकेको छ । डेढ करोड मतपत्र छापिसकिएको र बाँकी ५० लाख मतपत्र पनि केही दिनमै तयार हुने आयोगको भनाइ छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापनमा पनि आयोगले यसपटक विकेन्द्रीकृत शैली अपनाएको छ । कूल ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ वटा सामग्री जिल्ला तहमा नै खरिद गर्ने व्यवस्था मिलाइएको छ भने बाँकी १४ वटा मुख्य सामग्रीहरू माघ तेस्रो साताभित्र काठमाडौँ आइपुग्ने र त्यसलाई खण्ड(खण्ड गरी ढुवानी गरिनेछ । यसले केन्द्रमा हुने अनावश्यक भार र ढुवानीको जोखिमलाई कम गर्ने विश्वास गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार भोलि शुक्रबार उम्मेदवारहरूका लागि निकै महत्त्वपूर्ण दिन हुनेछ । बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने त्यसपछि अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म सबै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । प्रतिनिधिसभाका लागि देशभरबाट दर्ता भएका ३ हजार ४ सय ८७ उम्मेदवारहरू अब निर्वाचन चिन्ह पाएलगत्तै औपचारिक रूपमा जनताको घरदैलोमा पुग्नेछन् । साथै, आयोगले निर्वाचनका बेला फैलिन सक्ने गलत सूचनालाई नियमन गर्न कडा निगरानी गरिरहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउन नियमनकारी निकायहरूसँग सहकार्य गरिरहेको समेत स्पष्ट पारेको छ ।
















