Logo

८ माघ, काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्व परिवर्तनसँगै पार्टीको प्रशासनिक संरचनामा पनि हेरफेरको प्रक्रिया सुरु भएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा भोलि शुक्रबार पहिलोपटक केन्द्रीय कार्यालय सानेपा पुगेर कार्यभार सम्हाल्ने तयारीमा रहँदा, वर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाद्वारा नियुक्त हुनुभएका पौडेलले नयाँ सभापतिलाई आफ्नो कार्यशैली अनुसारको टिम बनाउन सहज होस् भन्ने उद्देश्यले मार्गप्रशस्त गरेको बताउनुभएको छ । झण्डै एक दशकदेखि कांग्रेसको केन्द्रीय प्रशासन सम्हाल्दै आउनुभएका पौडेलको राजीनामालाई पार्टीभित्रको शक्ति हस्तान्तरणको एक हिस्साका रूपमा हेरिएको छ ।

नयाँ सभापति थापाले अब पार्टीको मुख्य प्रशासनिक जिम्मेवारी सचिव कृष्णप्रसाद दुलाललाई सुम्पिने तयारी गर्नुभएको छ । विशेष महाधिवेशनको प्रक्रियामा गगन थापाको पक्षमा खुलेर लाग्नुभएका दुलाललाई थापाले निर्वाचित हुनेबित्तिकै मुख्यसचिव बनाउने आश्वासन दिइसक्नुभएको पार्टी स्रोतको दाबी छ । २०७४ सालमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम कांग्रेसमा विलय हुँदा दुलाल कांग्रेसको केन्द्रीय सचिवको जिम्मेवारीमा आउनुभएको थियो। उहाँले पार्टीको विवादित र कठिन मोडहरूमा थापा समूहलाई सचिवालय व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आउनुभएको छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा भोलि हुने भनिएको सभापति थापाको पदबहालीसँगै दुलाललाई मुख्यसचिवको जिम्मेवारी सुम्पिने औपचारिक निर्णय हुने बुझिएको छ । यसअघि देउवा पक्षका कार्यकर्ताहरूको अवरोधका कारण थापा नेतृत्वको टोली पार्टी कार्यालय छिर्न पाएको थिएन, तर अहिले वातावरण सहज बनेसँगै प्रशासनिक नेतृत्व पनि परिवर्तन हुन लागेको हो । यो परिवर्तनसँगै कांग्रेसको केन्द्रीय सचिवालय अब नयाँ ऊर्जा र नयाँ अनुहारका साथ अगाडि बढ्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार