८ माघ, काठमाडौँ । वर्तमान सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाउनुभएको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री अर्याललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने र प्रवक्ताको भूमिका निर्वाह गर्ने गरी थप जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सम्हाल्दै आएको यो जिम्मेवारी अब गृह प्रशासनको नेतृत्व गरिरहनुभएका अर्यालको काँधमा आइपुगेको छ ।
यसअघिका सञ्चारमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएसँगै प्रवक्ताको पद रिक्त हुन पुगेको थियो। निवर्तमान मन्त्री खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चुनावी मैदानमा उत्रिनुभएपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । चुनावको चटारो र मन्त्रीहरूको राजीनामाका बीच सरकारका दैनिक कामकारबाही र निर्णयहरूलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्न मन्त्रिपरिषद्ले गृहमन्त्रीलाई नै यो महत्वपूर्ण जिम्मेवारी दिएको हो ।
अबदेखि मन्त्रिपरिषद्का बैठकका निर्णयहरू सार्वजनिक गर्ने र सरकारका नीतिगत विषयमा आधिकारिक जानकारी दिने काम प्रवक्ताको हैसियतमा गृहमन्त्री अर्यालले नै गर्नुहुनेछ । निर्वाचनको विशेष समय र सुरक्षा संवेदनशीलता बढेको बेला गृहमन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
















