८ माघ,वीरगञ्ज । वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। वीरगञ्जस्थित टीबी शाह क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतोले नेपालको बौद्धिकता पलायन रोक्न स्वदेशमै निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताउनुभयो। निजी लगानीबिना कुनै पनि देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै उहाँले निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्न आग्रह गर्नुभयो। “जब नेपालीहरूले आफ्नै देशमा रोजगारी पाउँछन्, शिक्षित र सक्षम बन्छन्, तब मात्र नेपालको शान विश्वमा उचो हुन्छ,” उहाँले भन्नुभयो।
प्याब्सन पर्साद्वारा बिहीबारदेखि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गर्दै उहाँले समृद्ध राष्ट्र निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। नेपाल स्वच्छ, शिक्षित र स्वस्थ राष्ट्र बन्न पर्याप्त जनशक्ति स्रोत रहेको उल्लेख गर्दै त्यसको सही परिचालन आवश्यक रहेकोमा जोड दिनुभयो। नेपालको शिक्षा प्रणाली सुदृढ रहेको र नेपालीहरू इमान्दार तथा मेहनती भएको आफ्नो अनुभव सुनाउँदै उहाँले आफू साधारण गाउँको विद्यालयबाट अध्ययन गरी विश्वका विश्वविद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्षम भएको उदाहरण प्रस्तुत गर्नुभयो।
डा. महतोले विद्यार्थीहरूलाई अध्ययनलाई प्राथमिकता दिँदै खेलकुद तथा अतिरिक्त क्रियाकलापबाट आत्मबल र आत्मसम्मान वृद्धि हुने भएकाले त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो। उद्घाटन समारोहमा विद्यार्थीहरूले ‘स्टप ब्रेन ड्रेन’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेकोप्रति उहाँले प्रशंसा गर्नुभयो। साथै कठिन परिस्थितिमा पनि निजी लगानीमार्फत शिक्षाको स्तर उकास्न प्याब्सनले खेलेको भूमिकाको विशेष सराहना गर्नुभयो।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवाष श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव रोशन सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, परिषदका विज्ञ सल्लाहकार डा. हरिशंकर साह, मणी पाख्र्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोकलगायतको उपस्थिति रहेको थियो।
क्रिकेट प्रतियोगितामा प्याब्सन पर्सामा आवद्ध ४० वटा विद्यालयका खेलाडीहरूको सहभागिता रहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिनुभयो। साथै प्याब्सनले माघ १० गतेदेखि प्याब्सन जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेल गुरुकुल एकेडेमी र सेन्ट जेभियर्स स्कुलबीच भइरहेको छ। टस जितेर ब्याटिङ गरेको गुरुकुल एकेडेमी १० ओभर ३ बल खेल्दा २८ रनमै अलआउट भएको छ।
















