Logo

९ माघ, काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतुको आगमन हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ का रूपमा विशेष महत्त्वका साथ हेरिन्छ।

आजका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मिक विश्वास रहेको छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, वागीश्वरी र बुद्धिदात्री जस्ता विभिन्न नामले पुकार्ने गर्छन् । विशेष गरी विद्यार्थी, साहित्यकार, कलाकार, पत्रकार र शिक्षकहरूले आ–आफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्य यन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्ने गर्छन् ।

अक्षरारम्भ र सामाजिक कार्यको साइत विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्राचीन परम्परा छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वासका कारण देशभरका सरस्वती मन्दिरमा बालबालिकाको ठुलो घुइँचो लागेको छ। सामान्यतया आजको दिनलाई विवाह, व्रतबन्ध र बेलविवाह जस्ता शुभकार्यका लागि ‘स्वयंसिद्ध’ साइत मानिने भए पनि यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्महरू भने नगरिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

मन्दिरहरूमा छात्रछात्राको घुइँचो उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती र ललितपुरको लेले लगायत देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण हुने विश्वासमा छात्रछात्राहरू मन्दिर पुग्ने गर्छन्।

हनुमानढोकामा राष्ट्रपतिको उपस्थितिमा ‘वसन्त श्रवण’ आजको दिन हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने ऐतिहासिक परम्परा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १०:२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ।

वसन्त श्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखहरू र उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। यसका लागि नासल चोकको सम्पूर्ण तयारी पुरा भइसकेको छ। ऋग्वेददेखि गान्धर्व पुराणसम्म चर्चा गरिएको वाग्देवीको यो उपासनाले समाजमा ज्ञानको ज्योति र सद्बुद्धि फैलाउने विश्वास गरिन्छ।


सम्बन्धित समाचार
भर्खरै