Logo

९ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगले आज (शुक्रबार) दिउँसो १ बजेसम्मको समय दिएको छ। निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि सुरु भएको फिर्ता प्रक्रिया सकिएलगत्तै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी गरिनेछ।

आयोगका अनुसार आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपश्चात् अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म सबै उम्मेदवारहरूलाई आ-आफ्नो निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ। माघ ७ गते परेका दाबी–विरोध र उजुरीहरूमाथि जाँचबुझ गरी आयोगले बिहीबार बेलुका नै उम्मेदवारहरूको सूची प्रकाशन गरिसकेको छ।

चुनावी मैदानमा ३ हजार ४ सय ८४ उम्मेदवार यस पटकको निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आयोगको तथ्याङ्कअनुसार उम्मेदवारी दिनेहरूमा ३ हजार ८९ पुरुष, ३९६ महिला र अन्य १ जना रहेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने १६५ सिटका लागि यो प्रतिस्पर्धा हुन लागेको हो।

सङ्घीय संसद्को २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने संवैधानिक व्यवस्था छ। आज निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारहरू औपचारिक रूपमा चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा लाग्न पाउनेछन्। फागुन २१ गते हुने मतदानका लागि सुरक्षा व्यवस्था र प्राविधिक तयारीलाई आयोगले तीव्रता दिएको छ।


सम्बन्धित समाचार