९ माघ, काठमाडौँ । मध्यपुरथिमि नगरपालिका-२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति दुई समूहबीच भएको विवाद उग्र बन्दा झडप र आगजनी भएको छ । सुधारगृहभित्र रहेका बालक तथा किशोरहरूका दुई समूहबीचको आपसी विवाद तोडफोड र आगजनीमा परिणत भएपछि मध्यरातसम्म सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
झडपको खबर प्राप्त हुनासाथ थिमि प्रहरी वृत्तका प्रमुख डीएसपी नवराज ढुङ्गानाको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर, झडपमा संलग्न दुवै समूहले उल्टै प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। परिस्थिति थप जटिल बनेपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको थप टोली परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार सुधारगृहको भवनमा लगाइएको आगो निभाउन भक्तपुर र काठमाडौँबाट आएका वारुणयन्त्रहरू परिचालन गरिएका थिए । मध्यरातमा आगो नियन्त्रणमा आए पनि सुधारगृहमा भएको भौतिक क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ ।
हाल उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी कुल १६९ जना रहेका छन् । अहिले स्थिति सामान्य र नियन्त्रणमा भए पनि पुनः झडप हुन नदिन सुधारगृह परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा निगरानी राखिएको छ । घटनाको मुख्य कारण र संलग्नहरूको पहिचानका लागि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
















