९ माघ, काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको भावी उम्मेदवार घोषणा गर्ने तयारी गरेको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार विशेष महाधिवेशनको म्यान्डेट र बदलिँदो राजनीतिक परिवेशलाई मध्यनजर गर्दै कांग्रेसले स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने रणनीति लिएको हो । “हामी देशभर नवीन कांग्रेसको सन्देशसहित सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दैछौँ,” प्रवक्ता चालिसेले भने, “मतदाताले भोट हाल्नुअघि नै आफ्नो प्रधानमन्त्री को हो भन्ने स्पष्ट रूपमा जान्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।”
यसअघि गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। निर्वाचनपछिका सुरुवाती बैठकहरू कार्यालय बाहिर बसे पनि आजदेखि थापा नेतृत्वको टोलीले विधिवत् रूपमा सानेपास्थित केन्द्रीय कार्यालयमा पदबहाली गर्दैछ। आजै निर्वाचन समितिले नयाँ कार्यसमितिलाई आधिकारिक प्रमाणपत्र समेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।
चुनावी मैदानमा नेतृत्वको होड कांग्रेसको यो निर्णयसँगै आगामी निर्वाचनमा प्रधानमन्त्रीका मुख्य दाबेदारहरूको तस्बिर स्पष्ट भएको छ। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिसकेका छन्। ‘जेन-जी’ पुस्ताको माग र सुशासनको मुद्दालाई सम्बोधन गर्न गगन थापाको नेतृत्व प्रभावकारी हुने कांग्रेसको दाबी छ।
विशेष महाधिवेशन आह्वानका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको असहमति रहे पनि निर्वाचित नयाँ समितिले पार्टीलाई पूर्णतः नयाँ ढङ्गले सञ्चालन गर्ने तयारी गरेको छ। आजको बैठकले निर्वाचन परिचालन र घोषणापत्रका विषयमा समेत महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।
















