Logo

९ माघ, काठमाडौं । काठमाडौँको सिंहदरबारस्थित संघीय संसद् भवनमा आज दिउँसो १ः१५ बजे राष्ट्रिय सभाको विशेष बैठक बस्दैछ ।

यस बैठकले समसामयिक राजनीतिक परिवर्तन, महत्वपूर्ण विधेयकका प्रतिवेदन र शोक प्रस्तावलाई मुख्य कार्यसूचीका रूपमा अघि बढाउने तयारी गरेको छ । बैठकको प्रारम्भमा अध्यक्ष नारायण दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को नयाँ गठन तथा कार्यभार बाँडफाँडसम्बन्धी औपचारिक पत्रहरू वाचन गरेर सदनलाई जानकारी गराउनुहुनेछ । साथै, राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पदका विषयमा पनि सदनलाई औपचारिक रूपमा अवगत गराइने कार्यक्रम छ ।

संसदीय समितिका कामकारबाही र नीतिगत सुधारका पक्षमा पनि आजको बैठक महत्वपूर्ण रहने देखिएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभामा प्रस्तुत गर्ने कार्यक्रम छ भने विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ माथि समितिको अध्ययन समेटिएको प्रतिवेदन टेबुल गर्नुहुनेछ  ।

यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारका तर्फबाट विभिन्न अत्यावश्यक अध्यादेशहरू सदनमा पेस गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकको अन्त्यतिर संसद्ले आफ्ना पूर्वसहकर्मी र राजनीतिक व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्नेछ । अध्यक्ष दाहालले पूर्वमन्त्री एवं विभिन्न कालखण्डका सांसदहरू ऋषिकेश गौतम, मोहम्मद आफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय र होमनाथ दाहालको असामयिक निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । ती दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै शोक प्रस्ताव पारित गरेसँगै आजको बैठक विसर्जन हुने कार्यतालिका तय गरिएको छ ।


सम्बन्धित समाचार