Logo

 ९ माघ, काठमाडौँ । अमेरिकामा प्रतिबन्धको जोखिममा परेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक अन्ततः नयाँ सम्झौतामार्फत निरन्तर सञ्चालनमा रहने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार टिकटकले आफ्नो अमेरिकी सेवा सञ्चालनका लागि छुट्टै नयाँ कम्पनी स्थापना गरेको छ, जसमा बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताहरूको रहने बीबीसीले जनाएको छ।

नयाँ सम्झौताअनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सको स्वामित्व अब १९.९ प्रतिशतमा सीमित हुनेछ। बाँकी सेयर अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले लिनेछन्। यससँगै टिकटकले पहिलोपटक अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा विस्तृत विवरण सार्वजनिक गरेको छ।

सम्झौतापछि अमेरिकाका टिकटक प्रयोगकर्ताको सम्पूर्ण डेटा अमेरिकामै अवस्थित सुरक्षित क्लाउड प्रणालीमा भण्डारण गरिनेछ। साथै, चीनका प्राविधिक कर्मचारीहरूलाई टिकटक अमेरिकाको दैनिक सञ्चालनमा प्रत्यक्ष पहुँच नदिइने व्यवस्था गरिएको छ।

यो नयाँ व्यवस्था टिकटकमा मात्र सीमित नरही बाइटडान्सका अन्य भिडियो सम्पादन तथा सामाजिक सञ्जालसम्बन्धी एपहरूमा समेत लागू हुने जनाइएको छ। यद्यपि केही राष्ट्रिय सुरक्षा विज्ञहरूले यो सम्झौता सन् २०२४ मा पारित अमेरिकी राष्ट्रिय सुरक्षा कानूनको मर्मअनुसार पूर्ण रूपमा नजोडिएको भन्दै आलोचना गरेका छन्।

यस सम्झौतापछि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता तथा लाखौँ व्यवसायले टिकटक प्रयोग गर्न निरन्तर अवसर पाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार