Logo

९ माघ, काठमाडौं । हिमाली जिल्ला मनाङमा चुनावी प्रतिस्पर्धाको परम्परागत स्वरूपलाई तोड्दै प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच अनौठो र रोचक शक्ति सन्तुलनको सहमति भएको छ ।

आसन्न निर्वाचनमा हुनसक्ने सम्भावित झै–झगडा र सामाजिक कलहलाई रोक्न स्थानीय लामा गुरुहरूको रोहबरमा बिहीबार भ्राताङमा बसेको विशेष भेलाले चिट्ठा प्रक्रियामार्फत चुनावी भागबन्डा मिलाएको हो । सोही समझदारी अनुरूप एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी फिर्ताको निवेदन दर्ता गराउनुभएको छ, जसका कारण अब एमालेले संघीय निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङलाई समर्थन गर्ने निश्चित भएको छ  ।

पटक-पटकको छलफलमा पनि दुवै पक्ष पछि हट्न तयार नभएपछि धार्मिक गुरुहरूको प्रस्तावमा गरिएको यो गोटी वा चिट्ठा प्रणालीले कांग्रेसलाई प्रतिनिधिसभाको टिकट जुराएको हो । यसको बदलामा मनाङका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रहरू नेकपा एमालेको भागमा परेका छन्, जहाँ कांग्रेसले एमाले उम्मेदवारहरूलाई सघाउने गरी जिल्लास्तरीय गठबन्धन बनेको छ ।  एमालेसँगै राप्रपाका उम्मेदवार कुविरसिङ गुरुङले पनि मनोनयन फिर्ता लिएपछि अब मनाङको चुनावी भिडन्त मुख्यगरी नेपाली कांग्रेस र यशोदा सुवेदी उम्मेदवार रहेको नेपाली कम्युनिस्ट पार्टीबीच हुने देखिएको छ ।

मनाङको यो राजनीतिक सहमतिलाई स्थानीयले सामाजिक सद्भाव कायम राख्ने पुरानो परम्पराको निरन्तरताका रूपमा हेरेका छन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले एमाले र राप्रपाको उम्मेदवारी फिर्ताको पत्र प्राप्त भइसकेको जानकारी दिँदै आज दिउँसो ३ बजेपछि मात्रै यसबारे औपचारिक निर्णय सार्वजनिक गरिने बताउनुभएको छ । केन्द्रमा दलहरूबीच जस्तोसुकै सम्बन्ध रहे पनि मनाङमा लामा गुरुहरूको समन्वयमा भएको यो चिट्ठा राजनीतिले राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गरिदिएको छ ।


सम्बन्धित समाचार