Logo

९ माघ, वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अशोक कुमार टेमानी प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। आर्थिक विकास, रोजगारी सिर्जना र सुशासनयुक्त राज्य संयन्त्र निर्माण उनका प्रमुख राजनीतिक एजेन्डा हुन्।

परम्परागत रूपमा नेपाली कांग्रेसको बलियो पकड मानिने यस क्षेत्रबाट कांग्रेसका पूर्वमन्त्री अजय कुमार चौरसिया पुनः उम्मेदवार बनेका छन्। साथै नेकपा एमालेबाट रिमादेवी यादव, नेकपाबाट मनोज चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिल कुमार साहजस्ता प्रभावशाली उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। यस्तो अवस्थामा टेमानीले मतदाताको विश्वास कसरी जित्लान् भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

तर उनको राजनीतिक, व्यावसायिक र सामाजिक पृष्ठभूमि नियाल्दा टेमानी केवल दलको उम्मेदवार मात्र नभई शिक्षा, अनुभव र योगदानले स्थापित व्यक्तित्वका रूपमा देखिन्छन्। अनुभवी र राजनीतिमा माहिर मानिने अजय कुमार चौरसियासँगको प्रतिस्पर्धा चुनौतीपूर्ण भए पनि टेमानीलाई मतदाताले राजनीतिक तथा सामाजिक दुवै हिसाबले सहज रूपमा लिन सक्ने आधारहरू प्रशस्त छन्।

अशोक कुमार टेमानीको शैक्षिक पृष्ठभूमि नेपाली राजनीतिमा विरलै देखिने खालको छ। सन् २०१६ मा उनले संयुक्त राज्य अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयको जोन एफ। केनेडी स्कूल अफ गभर्नमेन्टबाट अमेरिका–दक्षिण एशिया नेतृत्व सहभागिता कार्यक्रम अन्तर्गत कार्यकारी शिक्षा हासिल गरेका छन्।

त्यसैगरी सन् २०१७ मा अमेरिकी वाणिज्य तथा यातायात विभागद्वारा सञ्चालित विशेष व्यवसायिक इन्टर्नशिप कार्यक्रम अन्तर्गत अन्तरमाध्यमिक यातायात तथा ढुवानी सञ्चालन र व्यवस्थापन विषयमा वाशिङटन डी।सी।मा अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका छन्।

उहाँले सन् २०१० मा जापानको नागोया र टोकियोमा कर्पोरेट व्यवस्थापन अध्ययन गरेका थिए भने सन् २००६ मा डेनमार्कमा स्वच्छ उत्पादनसम्बन्धी तालिम लिएका थिए। फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली वाणिज्य तथा उद्योग महासंघहरूको वार्षिक साधारणसभामा सहभागिता जनाउँदै विश्वकै उत्कृष्ट चेम्बर पुरस्कार प्राप्त गर्ने टोलीको प्रतिनिधित्व गर्नु पनि उनका अन्तर्राष्ट्रिय अनुभवका उल्लेखनीय उपलब्धिमध्ये एक हो।

३५ वर्षको व्यावसायिक अनुभव, नीति र व्यवहारको संगम

उद्योग, व्यापार, अन्तर्राष्ट्रिय व्यवसाय, आयात–निर्यात तथा ढुवानी व्यवस्थापन क्षेत्रमा टेमानीसँग ३५ वर्षभन्दा बढी अनुभव छ। यस अवधिमा उनले चीन, भारत, जापान, सिङ्गापुर, थाइल्याण्ड, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, टर्की र स्विजरल्याण्डलगायत मुलुकहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

साना तथा मध्यम उद्यमको आधुनिकीकरण, व्यापार सहजीकरण, अन्तरदेशीय ट्रान्जिट समस्या समाधान र लगानीमैत्री वातावरण निर्माणका पक्षधर टेमानीका आर्थिक एजेन्डा नारामुखीभन्दा कार्यान्वयनयोग्य देखिन्छन्।

हाल उनी नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष तथा महासंघको केन्द्रीय कार्यकारी समिति सदस्य छन्। यसअघि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष (२०११–२०१३) रहँदा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईबाट उत्कृष्ट राष्ट्रिय चेम्बर पुरस्कार प्राप्त गरेका थिए।

उनी नेपाल–भारत सामाजिक तथा आर्थिक मञ्चका अध्यक्ष, मधेश विश्वविद्यालयका सिनेट सदस्य, श्री गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयका अध्यक्ष (२०२०–२०२४) समेत रहिसकेका छन्।

सामाजिक सेवामा सक्रियता

टेमानी सामाजिक सेवामा पनि निरन्तर सक्रिय रहँदै आएका छन्। उनी नेपाल रेडक्रस सोसाइटी र नेत्रज्योति संघका जीवन सदस्य हुन्। यसअघि लायन्स क्लब अफ वीरगन्ज आदर्शनगर र मारवाडी युवा मञ्चको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।

उनी जिल्ला कराते संघका संस्थापक अध्यक्ष, टेमानी फाउन्डेशन (पारिवारिक ट्रस्ट) का अध्यक्षका रूपमा शिक्षा, स्वास्थ्य र सामाजिक चेतनाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यापार तथा ट्रान्जिट सुविधा समिति सदस्य, इन्टरमोडल विकास बोर्डका संस्थापक सदस्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक बोर्डका बोर्ड सदस्य (२०१६–२०२०) तथा वीरगन्ज महानगरपालिकाका सल्लाहकारका रूपमा काम गरिसकेका टेमानीसँग नीति निर्माण तहदेखि स्थानीय शासनसम्मको अनुभव छ।

किन टेमानी फरक देखिन्छन् ?

कांग्रेसको बलियो पकड रहेको पर्सा क्षेत्र नम्बर २ मा टेमानीको चुनौती सजिलो छैन। तर अन्य उम्मेदवारभन्दा उनको शैक्षिक योग्यता, अन्तर्राष्ट्रिय अनुभव, आर्थिक क्षेत्रको गहिरो ज्ञान र दीर्घ सामाजिक योगदान नै सबैभन्दा ठूलो शक्ति बनेको छ।

भावनात्मक नाराभन्दा आर्थिक सुधार, रोजगारी सिर्जना र सुशासनका संरचनागत उपायमा केन्द्रित स्पष्ट खाकाका कारण पर्सा क्षेत्र नम्बर २ का सचेत मतदाताबीच अशोक कुमार टेमानी वैकल्पिक, सक्षम र विश्वसनीय नेतृत्वका रूपमा स्थापित हुँदै गइरहेका छन्।


सम्बन्धित समाचार