९ माघ, काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहभित्र बिहीबार राति सुरु भएको आपसी विवादले हिंसात्मक मोड लिँदा सुधार गृह रणमैदानमा परिणत भएको छ ।
आन्तरिक समूहहरूबीच एकअर्कालाई हेप्ने र कुटपिट गर्ने विषयबाट सुरु भएको यो झडपमा परी १३ जना घाइते भएका छन्, जसमध्ये गम्भीर अवस्थाका दुई जनाको हाल अस्पतालमा उपचार भइरहेको छ ।
झडप यति उग्र बन्यो कि आन्दोलित पक्षले सुधार गृहको भवनभित्रै आगजनी गरेपछि संरचना नै ध्वस्त भएको छ। स्थिति नियन्त्रणमा लिन र घाइतेहरूको उद्धार गर्न पुगेको प्रहरी टोलीमाथि समेत भित्रबाट व्यापक ढुंगामुढा भएपछि केही समय सुरक्षाकर्मी परिसरभित्र प्रवेश गर्न समेत कठिन भएको थियो ।
आगो र तोडफोडका कारण सुधार गृहको भवन बस्न नमिल्ने गरी क्षतिग्रस्त भएपछि त्यहाँ रहेका १६४ जना मध्ये १६२ जनालाई तत्काल स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सुधार गृह पूर्ण रूपमा खाली गराई उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र भक्तपुरका विभिन्न बाल सुधार निगरानी कक्षहरूमा सारिएको छ ।
सुरक्षा निकायले मध्यरातमा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आन्तरिक कलह र आक्रोशका कारण सुधार गृहको शान्ति सुरक्षामा ठूलो चुनौती देखिएको छ । हाल सो क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरी घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ।
















