Logo

९ माघ, काठमाडौं । ओखलढुङ्गाको चुनावी राजनीतिमा नयाँ ट्वीस्ट आएको छ, जहाँ स्वतन्त्र उम्मेदवारी दिएका सन्त तामाङले आफ्नै पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै चुनावी मैदान छाड्ने घोषणा गर्नुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट टिकटको प्रवल दाबेदार रहनुभएका तामाङले पार्टीले एमालेबाट भित्रिएका अमिरबाबु गुरुङलाई उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको थियो । तर, चुनावी सरगर्मी बढ्दै जाँदा तामाङले आफ्नो विद्रोही अडानलाई त्यागेर गुरुङकै पक्षमा उभिने निर्णय गरेपछि ओखलढुङ्गाको निर्वाचन अब रोचक मोडमा पुगेको छ ।

तामाङले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी फिर्ताको निवेदन पेस गर्दै अब आफू अमिरबाबु गुरुङलाई जिताउन सक्रिय लाग्ने स्पष्ट पार्नुभएको छ । उहाँले यसअघि गुरुङले जनप्रतिनिधि र मन्त्रीका रूपमा निर्वाह गरेको भूमिका र जिल्लाको विकासमा पुर्‍याएको योगदानलाई कदर गर्दै यो त्याग गरेको बताउनुभएको छ ।

एउटै पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्दै ओखलढुङ्गामा वामपन्थी शक्तिलाई बलियो बनाउन तामाङको यो निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।


सम्बन्धित समाचार